Public Pana
‘तपस्वी’को भेषमा बम्जनको विलाशी जीवनशैली , घरमा   पैसाकाे थुप्राे

बाल यौनदुराचारको आरोपमा पक्राउ गरेका रामबहादुर बम्जनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको छ । 

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नेपाल प्रहरीले २०७६ सालमा नै सर्लाहीमा एक नाबालिकामाथि यौनदुराचार गरेको अभियोग लागेका बम्जनलाई खोजी गर्दै आएकोमा मंगलवार बेलुका (हिजो) उनको काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गर्न सफल भएको थियो । 

May be an image of money

थप अनुसन्धानको क्रममा उनको घरबाट ठूलो धनराशी बरामद गरिएको पनि सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिनुभयो । उहाँकाअनुसार बरामद गरिएका नगद राशिमध्ये १७ देशका विभिन्न मुद्राहरु रहेको र त्यसको नेपाली रकम ३० लाख ९२ हजार ४०६  हुन्छ ।  

त्यसैगरी प्रहरीले उनको घरबाट १४ थान मोबाईल, ५ थान आईप्याड, २ वटा गाडी र ४ वटा मोटरसाईकल पनि फेला पारेको छ । 

एसएसपी आचार्यले भन्नुभयो, ‘लामो अनुसन्धान र प्रयासपछि केन्द्रिय अनुसन्धान ब्युरोद्वारा रामबहादुर बम्जन भनिने रामलाल बञ्जनलाई हिजो बेलुकी हात्तिगौँडाबाट पक्राउ गर्न सफल भएका छौं । विशेष गरेर २०७६ सालमा सर्लाहीमा एक जना नाबालिकालाई बालयौन दुराचार बलात्कारको केशमा निज रामबहादुर बञ्जनको खोजिभईरहेको अवस्था थियो । यसै सन्दर्भमा विभिन्न मानिसहरु पनि हराइरहेको भन्ने सूचना पनि प्रहरीसँग आएको थियो ।

बम्जनको खोजी केन्द्रिय अनुसन्धान ब्यूरेले लामो समयदेखि गरिरहेको अवस्था हो । र यसै पक्राउको सन्दर्भमा हिजो निजलाई पक्राउ गर्दाखेरी निजको निवासबाट ठूलो संख्यामा नेपाली रुपैयाँ टोटल ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ विभिन्न देशका मुद्राहरुको नेपाली रुपैयाँमा कन्भर्ट गर्दाखेरी ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको थियो । र यो नगदको साथसाथै अन्य थुप्रै सामानहरु बरामद गरिएको छ ।

जसमा मोबाइल १४ थान, आईप्याड ५ थान र निजको साथमा २ वटा गाडीहरु र ४ वटा मोटरसाइकल पनि रहेको पाइएको छ । थप अनुसन्धानको काम पनि भइरहेको छ । ’

ब्युरोले आज पक्राउ परेका बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ । उनीमाथि आफ्ना चेलाहरुको हत्या गरेको आरोप पनि लगाइएको छ । त्यसैगरी बम्जनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठूलो धनराशीबारे पनि थप अनुसन्धान गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउने सिआईबीले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update