Public Pana
दुई महिनादेखि पछ्याउदै १८ दिनको अप्रेसनपछि फन्दामा परे विवादित तपस्वी वम्जन 

करिव दुई महिना अघि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोलाई एउटा सुचना आयो ।

सुचना थियो लामो समयदेखि फरार रहदै आएका विवादित तपस्वी रामबहादुर बमजन काठमाडौ भित्रिए । 
मंसिरको महिनामा आएको उक्त सुचनालाई सिआइबीले गम्भीर रुपमा लिएर सुक्ष्म निगरानी शुरु ग¥र्यो । कुनै समय उनकै वेडमा पुगेर पनि पक्राउ गर्न असफल भएकाले यसलाई अलग्गै मिसनको रुपमा अप्रेसन गर्ने योजना सिआइबीले बनायो । उक्त सुचनालाई भेरिफाइ गर्दा बमजन गोप्य रुपमा काठमाडौ भित्रेको र ठेगाना परिर्वतन गरि गरि बस्ने गरेको सुचना प्राप्त ग¥र्यो । त्यसपछि सिआइबीले पनि सोही अनुसारको योजना बनाउन थाल्यो । 
तपश्वीको भेषमा अनुयायीलाई बेपत्ता पारेको र बलत्कार गरेको जस्ता अभियोग लागेका  बम्जनलाई करिव डेढ महिना सिआइबीले क्लोज वाच मात्र ग¥र्यो । उनलाई प्रहरीलाई आफू काठमाडौ भित्रै रहेको सुइको नभएको भान होस् भनि सिआइबीले यस्तो गरेको थियो । त्यसपछि प्रहरीले १८ दिनदेखि मेजर अप्रेसन शुरु गरेको थियो । अप्रेसन चलेको १८ औ दिन उनलाई घरमै पुगेर प्रहरीले पक्राउ गर्न सफल भएको हो । 
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार, मंगलबार साँझ बूढानीलकण्ठमा उनी घरमै थिए । उनले प्रहरी आएको चाल समेत पाएका थिए । उनी दुई महिनादेखि घरमै रहेको कुरा सिआइबीसँग पक्राउ परेपछि बयानमा स्वीकार गरेका छन् । 
ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यका अनुसार, विशेष सूचनाका आधारमा बम्जनको हात्तीगौंडामा रहेको घरमा प्रहरी टोली पुगेको थियो । त्यसक्रममा उनलाई घरबाट पक्राउ गरिएको उनले बताइन् ।
स्रोतका अनुसार, बम्जनको श्रीमतीलाई प्रहरीले ट्रयाक गरिरहेको थियो । एक महिनाअघि उनको बच्चा जन्मिएको थाहा पाएपछि खोजीलाई तीब्र पारिएको थियो । त्यही आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेपछि गरिएको प्रारम्भिक सोधपुछमा उनले आफू कहिले सिन्धुली त कहिले मकवानपुरको जंगलमा बस्दै आएको बताएका छन् । पछिल्लो समय दुई महिनायता काठमाडौं आएको उनले स्वीकार गरे । 
एआईजी बज्राचार्यले बोम्जनलाई केही दिनदेखि ब्यूरोले क्लोज निगरानीमा राखेको बताइन् । ‘१७÷१८ दिनदेखि टोली त्यहाँ खटिइरहेको थियो, प्राविधिक र अन्य पक्षको अनुसन्धान गर्दै जाँदा त्यहाँसम्म पुगेका थियौं’, उनले भनिन्, ‘त्यसक्रममा मंगलबार त्यहाँ छापा मारिएको थियो ।’

त्यसक्रममा प्रहरी देखेपछि बोम्जन दुई तलामाथिबाट हामफालेका थिए । त्यसपछि सीआईबीबाट खटिएको डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले भुइँतलाबाट पक्राउ गरेर ब्यूरोको कार्यालयमा ल्याएको एक प्रहरी अधिकृतले बताए ।

बम्जनले अनुयायी बेपत्ता पारेको भन्दै पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो । उजुरी पर्नुभन्दा ३ वर्षअघि बम्जनका विश्वास पात्र जसबहादुर वाइवाले जितपुर सिमरा–१८, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगरलाई लिएर गएको परिवारका सदस्यहरुको भनाइ थियो ।

तर, त्यसयता उनी सम्पर्कविहीन रहेको परिवारले दाबी गरेको थियो । बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ ।

उनीहरु सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान थियो । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै उजुरी समेत परेको थियो ।

प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको थियो । जहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको आशंका गरिएको थियो । करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो । 

पक्राउ परेका वम्जनलाई अव प्रारम्भिक बयान गराइने छ । अनि आजै म्याद थपका लागि अदालत पनि उपस्थित गराइने छ।  यो सगै उनी विरुद्ध जाहेरी रहेका अदालतहरुमा मुद्दाको लागि पेश गरिने छ।  

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update