Public Pana
 ३४ वर्षीय समलिंगी युवा फ्रान्सका प्रधानमन्त्री

गाब्रिअल अटल फ्रान्सका नयाँ प्रधानमन्त्रीमा चयन भएका छन् ।

एमानुअल माक्रोँले आफ्नो राष्ट्रपति कार्यकाललाई नयाँ सरकारसहित पुनर्संरचना गर्न खोजिरहँदा उनको नियुक्ति भएको हो।

३४ वर्षीय गाब्रिअल अटल आधुनिक फ्रान्सको इतिहासमा प्रधानमन्त्री हुने सबैभन्दा कान्छा व्यक्ति हुन्।

यसअघि समाजवादी लरेन्ट फाबिअस सन् १९८४ मा ३७ वर्षका हुँदा प्रधानमन्त्री नियुक्त भएका थिए।

अटल २० महिना काम गरेर राजीनामा दिएकी एलिसाबेथ बोर्नको उत्तराधिकारी बनेका छन्।

आफ्नो कार्यकालभर उनले संसद्मा बहुमतको अभावसँग सङ्घर्ष गरेकी थिइन्।

उनको नियुक्तिलाई राष्ट्रपतिद्वारा आफ्नो सरकारको जीवनमा प्राण भर्ने प्रयासको रूपमा हेरिएको छ।

सुधारसम्बन्धी शृङ्खलाबद्ध विवादहरूपछि सर्वेक्षणहरूले राष्ट्रपति माँक्रोले समर्थन गुमाइरहेको देखाएका छन्।


अब उनीसँग जून महिनामा हुने महत्त्वपूर्ण युरोपेली संसद्को निर्वाचनमा फ्रान्स सरकारको नेतृत्व गर्ने दायित्व हुनेछ।

उनी प्रधानमन्त्री कार्यालय सम्हाल्न पाउने पहिलो समलिङ्गी व्यक्ति हुन्। 
राजनीतिक जीवन
उनको राजनीतिक उन्नति निकै तीव्र गतिमा भएको पाइन्छ।

दश वर्षअघि उनी देशको स्वास्थ्य मन्त्रालयमा प्रस्ट भूमिका नभएका सल्लाहकार र सोसलिस्ट कार्यकर्ता थिए।

माक्रोँको सन् २०१७ को चुनावका बेला अटल सांसद बनेका थिए। बहस गर्नमा सिपालु उनी त्यसबेला देखि नै राष्ट्रपतिको आँखामा परेका थिए।

२९ वर्षको उमेरमा उनी फ्रान्सको सरकारमा सबैभन्दा कान्छा मन्त्री बनेका थिए। जतिखेर उनी कनिष्ठ शिक्षा मन्त्री बनेका थिए।

सन् २०२० यता उनी सरकारी प्रवक्ताका रूपमा छन्। त्यसबेला देखि नै उनी मतदातामाझ राम्रोसँग चिनिन थाले।

सन् २०२२ मा राष्ट्रपति माक्रोँ पुनर्निर्वाचित भएपछि उनी छोटो समय बजेट मन्त्री भए। र गत जुलाईमा शिक्षामन्त्री बने।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update