Public Pana
दूरसञ्चार प्राधिकरणको कार्यबाहक अध्‍यक्षको जिम्मेवारी अधिकारीलाई

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्‍यक्षको राजीनामा स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष पुरुषोत्तम खनालले दिएको राजीनामा स्वीकृत गर्न निर्णय गरिएको छ। 

बैठकका निर्णयबारे जानकारी दिँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको जानकारी दिइन्। 

यस्तै उक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यबाहक अध्यक्ष तोक्ने निर्णय पनि गरिएको छ।  

 

यस्तै सरकारले राष्ट्रिय विकास परिषद्‌मा नेपाल सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारीरव्यक्तिहरु मध्येबाट २५ जना सदस्यहरु मनोनयन गर्ने निर्णय पनि गरेको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माका अनुसार मन्त्रिपरिषद्‌बाट विभिन्न मितिमा घोषणा भएर विवरण फरक परेका सहिदहरुको विवरण सच्याउने निर्णय गरिएको छ।  

 

यसरी सच्याइएपछि नेपाल राजपत्रमा प्रकाशन हुन छुट भएका सहिदहरुको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय पनि भएको मन्त्री शर्माले जानकारी दिइन्।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update