Public Pana
बाजुरामा जहाज कुर्दाकुर्दै १३ दिने सुत्केरीको मृत्यु

समयमै जहाज नपुग्दा बाजुरामा एक सुत्केरीको ज्यान गएको छ। हुम्लाको ताजाँकोट गाउँपालिका–५ की २३ वर्षीया अंशु बुढाको हवाई जहाज कुर्दाकुर्दै बाजुराको कोल्टी विमानस्थलमा ज्यान गएको हो।

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क हवाई उद्वार कार्यक्रम लागू  भए पनि समयमै उद्दार नहुँदा उनको विमानस्थलमै मृत्यु भएको हो। 

गत पुस  १२ गते सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिएपछि परिवारले थप उपचारका लागि मदना स्वास्थ्यचौकीमा लगेका थिए। 

 

सुत्केरी भएको ११ दिनपछि बुढाको स्वास्थ्यमा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको ससुरा जितबहादुर बुढाले जानकारी दिए। 

समयमै सरकारी निकायबीच समन्वय नहुँदा सुत्केरी भएको १३ दिनपछि रक्तअल्पताले थलिएकी बुढाको समयमै उपचार हुन नसकेपछि ज्यान गएको हो। थप उपचारका लागि लैजान उनलाई आइतबार कोल्टी विमानस्थल पुर्‍याइएको थियो। 

 

तर, समयमै जहाज नपुगेपछि उनको सोमबार मृत्यु भएको हुम्लाका प्रदेश सांसद रणसिंह परियारले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update