Public Pana
अनियमितता गरेको भन्दै मन्त्रालयमा तानिए डीडीसीका महाप्रबन्धक सञ्जिवकुमार झा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान(डीडीसी) का महाप्रबन्धक सञ्जिवकुमार झालाई मन्त्रालय तानेको छ।

दुग्ध किसानबाट दूध खरिद गरेवापत करिब ६–७ महिनाको ८५ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न नसकेको, गत आर्थिक वर्षमा स्वदेशमा तरल दूध फालाफाल भइरहेको अवस्थामा भारतबाट दूध आयात गर्न लविइङ गरेको, संस्थानभित्र विभिन्न प्रकारका अनियमितता भेटिएको अभियोगमा महाप्रबन्धक झालाई मन्त्रालयमा तानिएको मन्त्रालय स्रोतले बताएको छ।

यसका साथै संस्थान सुधार गर्न विभागीय मन्त्री बेदुराम भुसालले पटक–पटक दिएको सुझाव र निर्देशनसमेत कार्यान्वयनमा नल्याएको अभियोग झामाथि लागेको छ। 

 

मन्त्रालयले म्याद नाघेको दुग्धजन्य अखाद्य पदार्थसमेत डीडीसीले समयमा नष्ट नगरेको, महाप्रबन्धकको रुपमा उनी आएपछि गत आर्थिक वर्ष २०७८/७९ मा ३७ करोड र आर्थिक वर्ष २०७९/८० मा ६० करोड रुपैयाँ गरी ९७ करोड घाटा डीडीसीले व्यहोर्न बाध्य भएको आरोप छ। 

यस्तै कर्मचारीहरुलाई कडाइका साथ परिचालन गर्न र बजार विस्तार गर्न नसकेकोलगायतका अभियोग उनीमाथि लगाइएको छ। झालाई विज्ञको रुपमा मन्त्रालयमा तानिएको हो।

२०७८ चैत १४ गते खुला प्रतिस्पर्धाबाट महाप्रबन्धकमा नियुक्त भएका झाको कार्यअवधि आगामी चैत १४ गते सकिँदै थियो। यो विषयमा भने झाले आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

बागमती प्रदेश सरकारले हेटौंडामा आइतबारदेखि सञ्चालनमा ल्याएको पाउडर दूध कारखानाको सुभारम्भ कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका छन्।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update