Public Pana
सप्तकोशी नगरपालिका तत्कालीन निमित्त कार्यकारी अधिकृत दाहालसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले सप्तकोशी नगरपालिका सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाललगायत ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

अदालतले अधिकृतसँगै इन्जिनियर सुदिप चौधरी र सव–इन्जिनियर रामकान्त चौधरी र निर्माण कम्पनीका ३ जनाको भ्रष्टाचार मुद्दा दोषी ठहर गर्ने फैसला सुनाएको हो। विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले आज सोमबार भ्रष्टाचारी ठहर गर्दै कैद र जरिवाना पनि सुनाएको छ। 

विशेषले कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाल, सुदीप चौधरी, रामकान्त चौधरीलाई जनही ४ लाख ९९ हजार, सोही बराबर जरिवाना भ्रष्टाचार निवारण ऐन अनुसार ठहर हुने फैसलामा भनेको छ। त्यस्तै उनीहरुलाई जनही ३ महिना कैद पनि हुने फैसलामा भनेको छ। त्यसैगरी निर्माण कम्पनीका सञ्चालकहरु श्यामकान्त चौधरी, नारायणप्रसाद यादव, राजकुमार यादवलाई जनही ४ लाख ९८ हजार रुपैयाँ विगो, सोही बराबर जरिवाना असुल गर्ने भनेको छ।

 

नगरपालिकाको १४ लाख ९७ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले दाबी गर्दै मुद्दा दर्ता गरेको थियो। दाहालसहित ६ जनाको मिलेमतोमा नगरपालिकाको रकम हिनामिना गरेको भन्दै आयोगले २०७७ असार ३० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

निमित्त कार्यकारी अधिकृत दाहालले सार्वजनिक खरिद ऐन र नियमावली विपरीत कानूनी प्रकृया छली सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रावधानको गलत व्याख्या गरी नगरपालिकाबाट गरिने कामलाई आफ्नै एकल बोर्डको निर्णय गरेका थिए।

दाहालले आफैं निर्णय गरी ३ भाग लगाई कोटेशनमार्फत ३ वटा निर्माण व्यवसायीलाई दिएको र ३ वटै निर्माण व्यवसायीहरुले नगरपालिकासँग गरेको सम्झौताविपरीत लागत इष्टिमेट गरेको अख्तियारको दाबी थियो। सम्झौता अनुसार गुणस्तरहीन कार्य गरेको, नगरपालिकाका सवइन्जिनियर रामकान्त चौधरी र इन्जिनियर सुदीप चौधरीले लागत इष्टिमेट बमोजिम काम गरेको भन्दै झुठा प्रतिवेदन पेस गरेका थिए।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update