Public Pana
वन अधिकृतको  १ करोड २५ लाख कमाईको स्रोत पुष्टि नभएपछि भ्रष्टाचार मुद्दा 

काठमाडौ–  डिभिजन वन कार्यालयमा कार्यरत रहेका एक अधिकृतले आफ्नो जागीरे अवधीमा कति आर्जन गर्ला र कति जोगाउला ?   सुन्दा सामान्य लाग्ने यो प्रश्नमा लाख बराबर अनुमान गर्न सकिन्छ ।

तर जिल्ला वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत दीर्घनारायण कोइरालाले जागिरे अवधिमा जोडेको झन्डै डेढ करोड सम्पत्तिको स्रोत नै अख्तियारले पुष्टि गर्न सकेन ।

अकुत सम्पत्ति आर्जन गरेको उजुरीमा अनुसन्धान गर्दा अख्तियार दुरुयोग अनुसन्धान आयोगले वन अधिकृत कोइरालको कुल सम्पत्ति २ करोड ७ लाख भन्दा देखिएको जसमध्ये  एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रुपैयाँको स्रोत नै उनले पुष्टि गर्न नसकेको अख्तियारले दावी गरेको छ। अख्तियारले उनी विरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्दा पनि दायर गरेको छ। 
कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको २०४६ जेठ २ देखि २०७८ फागुन १२ सम्ममा गरेको आम्दानी तथा खर्चको विवरण केलाउँदा उक्त रकम आम्दानी भन्दा वढि देखिएको उनले बताए । 
आयोगले उनको सम्पत्ति विवरणको विश्लेषण गर्दा पारिश्रमिक बचत, भत्ता बचत रकम, घर जग्गा बिक्री, जीवन बिमा परिपक्व भई प्राप्त गरेको रकम, ग्यास स्टोरबाट भएको आम्दानी, शेयर बिक्रीबाट प्राप्त रकम, कृषि आय र निजको छोरीको बचत रकमसमेत गरी ८१ लाख ८६ हजार नौ सय ९५६ रुपैयाँ ३१ पैसा कमाएको देखिएको अभियोगपत्रमा उल्लेख छ। 
सोही अवधिमा उनको व्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, अध्ययन खर्च, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, शेयर खरिद तथा लगानी, ग्यास स्टोरमा गरेको लगानी रकम, सामाजिक व्यवहार खर्च, विद्युतीय उपकरण खरिदबापतको रकम र बैङ्क मौज्दातसमेत गरी जम्मा दुई करोड सात लाख ८३ हजार तीन सय ४९ रुपैंया  ८५ पैसा खर्च तथा लगानी भएको आयोगको अनुसन्धानले देखिएको दावी अभियोगपत्रमा गरिएको छ। 
वैध आम्दानीको अनुपातमा उनले सिर्जना गरेको सम्पत्ति एवं खर्च तथा लगानी दुई करोड सात लाख ८३ हजार तीन सय ४९ रुपैयाँ ८५ पैसा देखिएपछि आयभन्दा बढी रकमको स्रोत नखुलेको आयोगको  अभियोगपत्रमा उल्लेख छ। 
सार्वजनिक पद धारण गरेका कोइरालालाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद,विगो र जरिवाना गर्न अख्तियारले अभियोगपत्रमा माग गरेको छ। 

त्यस्तै आयोगले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढिबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्ति समेत जफत गर्न अभियोगपत्रमा माग गरिएको छ। 


उनका अनुसार कोइरालाले सार्वजनिक सेवाको पदमा रहेर भ्रष्टाचारजन्य कार्य गरी गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने कार्य गरेको भन्दै  श्रीमती गीता पौडेल कोइरालालाई समेत अख्तियारले प्रतिवादी बनाएको छ। अख्तियारले उनको नाममा रहेको जग्गा,  घर निर्माण तथा बैङ्क खातामा रकम मौज्दात लगायतमा जफत गर्नुपर्ने माग अभियोगपत्रमा गरिएको छ। 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update