Public Pana
अमेरिकी अन्तरिक्षयान ५ दशकपछि चन्द्रमा यात्रामा

आधा शताब्दीभन्दा बढी समयपछि चन्द्रमामा अवतरण गर्ने प्रयास गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यान आज सोमवार बिहान सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।

नयाँ रकेट युनाइटेड लन्च एलायन्स (यूएलए) को भुल्कान सेन्टौरले फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट स्थानीय समयअनुसार बिहान २ बजेर १८ मिनेटमा एस्ट्रोबोटिकको पेरेग्रिन लुनार ल्यान्डरलाई लिएर आफ्नो पहिलो यात्राका लागि उडेको हो ।

झन्डै ४८ मिनेटपछि विना कुनै समस्या रकेटबाट ल्यान्डर अलग भएपछि मिसन कन्ट्रोलका कर्मचारीले ताली बजाएर खुशीयाली मनाएका थिए ।

यूएलएका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत टोनी ब्रुनोले नासाको प्रत्यक्ष प्रसारणमा प्रक्षेपणको प्रशंसा गरे । उनले भने, ‘म निकै रोमाञ्चित छु । यो वर्षाैँको कडा परिश्रमको परिणाम हो । यो चन्द्रमामा फर्कने अहिलेसम्मको नै सुन्दर अभियान भएको छ ।’

यूएलएका रणनीतिक योजना निर्देशक एरिक मोन्डाले प्रक्षेपणलाई ‘एकदम सही’ प्रक्षेपणको रूपमा वर्णन समेत गरे । ‘ये निकै ठीक छ । म हेर्नका लागि बाहिर नै निस्केको छु’, उनले भने । 

यदि सबै कुरा योजनाअनुसार भयो भने पेरेग्रिनले फेब्रुअरी २३ मा चन्द्रमाको मध्य अक्षांश क्षेत्र ‘साइनस भिस्कोसिटाटिस’ अर्थात् ‘बे अफ स्टिकिनेस’ मा अवतरण हुनेछ । 

अहिलेसम्म पृथ्वीको सबैभन्दा नजिकको खगोलीय छिमेकमा सफल अवतरण केवल केही राष्ट्रका अन्तरिक्षसम्बन्धी निकायहरूले मात्र पूरा गरेका छन् । यस अभियानलाई पूर्व सोभियत सङ्घले पहिलो पटक सन् १९६६ मा सम्पन्न गरेको थियो भने त्यसपछि लगत्तै १९७२ मा संयुक्त राज्य अमेरिका चन्द्रमामा मानिसहरूलाई अवतरण गराउने देश बनेको थियो । 

पछिल्लो एक दशकमा चीनले तीन पटक सफलतापूर्वक अवतरण गरेको छ भने भारतले गएको वर्ष आफ्नो दोस्रो प्रयासमा यो उपलब्धि हासिल गरेको थियो ।

अब व्यावसायिक पेलोड सर्भिस (सीएलपीएस) कार्यक्रमअन्तर्गत संयुक्त राज्य अमेरिका व्यावसायिक चन्द्र अर्थव्यवस्थालाई प्रोत्साहित गर्न र लागतको एक अंशमा आफ्नै हार्डवेयरले बनेको यानसहित व्यावसायिक क्षेत्रमा फर्किरहेको छ ।

एस्ट्रोबोटिकका प्रमुख कार्यकारी अधिकृत जोन थोर्नटनले अपोलोपछि पहिलो पटक अमेरिकालाई चन्द्रमाको सतहमा फर्काउनु महत्त्वपूर्ण सम्मानको कुरा भएको बताएका छन् । 

नासाले यस कार्यका लागि एस्ट्रोबोटिकलाई एक अर्ब अमेरिकी डलरभन्दा बढी भुक्तानी गरेको छ भने अर्को सम्झौता गरिएको कम्पनी ह्युस्टनमा रहेको  ‘इन्ट्युटिभ मेशिन्स’ ले फेब्रुअरीमा प्रक्षेपण गर्ने र चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने योजना बनाएको छ ।

‘आर्टेमिसको तयारीका लागि चन्द्रमाको सतहमा अधिक लागत प्रभावी र छिटो सम्पन्न यात्रा गर्न यसले सहज बनाउनेछ’, अन्वेषणका लागि अमेरिकी अन्तरिक्ष निकायका उपसहयोगी प्रशासक जोएल केर्न्नसले भने । 

आर्टेमिस नासाको नेतृत्वमा यस दशकको अन्त्यमा चन्द्रमामा अन्तरिक्षयात्रीहरूलाई फर्काउने कार्यक्रम हो ।
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update