Public Pana
विद्युतीय गाडी चार्जिङ स्टेसन मर्मत नहुँदा सेवाग्राही समस्यामा

चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारमा रहेको विद्युतीय गाडी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।

झण्डै दुई महिनादेखि बिग्रिएको चार्जिङ स्टेसन नबन्दा सेवाग्राही मर्कामा परेका छन् । सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डीसी चार्जर बिग्रेका छन् । अहिले एउटा एसी चार्जर मात्र सञ्चालनमा रहेको छ ।

एसी चार्जरबाट गाडी चार्ज गर्दा ढिलो हुने  गाडी चार्ज गर्न आउनुभएका गोरखाका ध्रुव गुरुङले बताउनु भयो । चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको उहाँले गुनासो गर्नुभयो । उहाँले एसी चार्जरबाट चार्ज गर्दा घण्टौँ कुर्नुपर्ने समस्या रहेको बताउनुभयो । उहाँले २० मिनेटमा गाडी जम्मा छ प्रतिशत चार्ज भएको बताउनुभयो ।

‘बिग्रेको अवस्थामा झण्डै एक घण्टामा पूरै चार्ज हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘अहिले त दुई तीन घण्टा कुर्नुपर्छ ।’ उहाँले सरकारले विद्युतीय गाडी प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रेका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गर्नुभयो । उहाँले धेरै चार्जिङ स्टेसन नहुँदा भएका स्टेसनमा धेरै समय लाइन लगाएर मात्रै चार्ज गर्न पाइने गरेको बताउनुभयो ।

चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजना व्यवस्थापक शिव अधिकारीले चार्जिङ गर्ने नोजल फुटेका कारण समस्या भएको बताउनुभयो । उहाँले चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एक÷दुई दिनमै आउने बताउनुभयो । 

आयोजना व्यवस्थापक अधिकारीका अनुसार नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२  चार्जिङ स्टेसन निर्माण गरिएको छ । केही स्टेसनमा समस्या देखिएको छ । देशभर चार्जिङ स्टेसनका १५३ मध्ये २० मा समस्या देखिएको बताउनुभयो । उहाँले सबै स्टेसनमा बिग्रिएको मर्मत तत्काल शुरु गरिने जानकारी दिनुभयो ।

उहाँले चार्जर प्रयोग गर्दा सेवाग्राहीले सावधानी नअपनाउँदा समस्या आएको बताउनुभयो । उहाँले गाडी चार्जका विषयमा उपभोक्तालाई धेरै कुरा जानकारी गराउनुपर्ने बताउनुभयो ।

चितवनमा केन्द्रीय बस टर्मिनल र मुग्लिनमा नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update