Public Pana
गण्डकी विश्वविद्यालयको व्यवस्थापन र कानुनको डिन तोक्ने तयारी

गण्डकी विश्वविद्यालयले चाँडै नै कानुन र व्यवस्थापन संकायको डिन नियुक्त गर्ने तयारी थालेको छ ।

विश्वविद्यालयले कार्यक्रमलाई आधार बनाएर त्यहाँ पढाइ हुने सबै संकायको एउटै डिन नियुक्त गरेको थियो ।

फरक विषयलाई पनि एउटै सङ्कायमा राखेर पढाउँदा विद्यार्थीको प्रमाणपत्र नै अवैधानिक हुनेमात्रै नभएर अन्य विश्वविद्यालयले समकक्षताको मान्यता नै नदिने जोखिम बढेको थियो ।

विश्वविद्यालयले त्यहाँ पढाइ हुने खेलकुद व्यवस्थापन (बीएसएम), ब्याचलर्स अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र ब्याचलर्स अफ आर्ट्स ब्याचलर्स अफ ल (बीएलएलबी) लाई पनि ‘विज्ञान तथा प्रविधि’ सङ्कायमै राखेर पढाउँदै आइरहेको छ ।

जबकि बीएसएम र बीबीए व्यवस्थापन सङ्कायअन्तर्गत पर्दछन् भने बीएलएलबी कानुन सङ्कायअन्तर्गत पर्दछ ।
विश्वविद्यालयका अनुसार तत्काललाई कानुन र व्यवस्थापनको डिन नियुक्ति प्रक्रिया सुरु गर्न प्रशासनबाट स्वीकृत भएर उक्त निर्णय विश्वविद्यालयको न्यायिक परिषदमा पुगिसकेको छ ।

न्यायिक परिषदमा विश्वविद्यालयका कुलपति, शिक्षा क्षेत्र हेर्ने प्रदेश सरकारको मन्त्रालयका प्रदेश सचिवसहित विभिन्न क्षेत्रका बौद्धिक तथा प्राज्ञिक व्यक्तित्व १५ जना गरी १७ जना सदस्य रहन सक्ने गण्डकी विश्वविद्यालय ऐन २०७६ ले व्यवस्था गरेको छ ।

उक्त ऐनको परिच्छेद ४ को बुँदा ९ (ञ) र (ठ)ले विश्वविद्यालयको आवश्यक सङ्काय तथा शिक्षण संस्थासम्बन्धी व्यवस्था उल्लेख छ ।
विश्वविद्यालयकै नियमावलीमा प्रत्येक संकायको फरक–फरक डिन हुनुपर्ने प्रष्ट उल्लेख छ । गण्डकी विश्वविद्यालयको ऐन २०७६ को दफा ९ अनुसार प्रत्येक संकायको एक जना डिन हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update