Public Pana
मधेस र मधेसीमुक्त राष्ट्रिय सभा निर्वाचन शर्मा

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामकुमार शर्माले राष्ट्रिय सभालाई मधेस र मधेसीमुक्त गरिएको भन्दै गुनासो गरेका छन्।

सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले मधेसलाई बेवास्ता गर्दै अन्य समूहबाट राष्ट्रियसभामा सिफारिस गरेपछि नेताहरू रुष्ट भएका हुन्। 

माओवादीले मधेसको पहिचानको मुद्दालाई बेवास्ता गर्दै राष्ट्रिय सभामा नमसेटेकोमा उनले गुनासो पोखेका हुन्। 
‘माओवादीतर्फबाट राष्ट्रिय सभामा मधेस र मधेसी मुक्त’, उनले कटाक्ष गर्दै भनेका छन्,‘लौ अवसर पाउने कमरेडहरूलाई हार्दिक बधाई!’

यसैबीच नेता शर्माले माओवादी मधेसमा मात्रै होइन देशमै कमजोर भएको पनि बताएका छ। सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले माओवादीले जनयुद्धमा उठाएका मुद्दामा शान्ति प्रक्रियामा आएपछि टिक्न नसक्दा यस्तो भएको बताए। 

‘माओवादी आफैं आफ्नो मुद्दामा टिक्न सकेन। अन्य दलले घेराबन्दी गरेर माओवादी कमजोर भयो’, उनले भने, ‘जसको लागि माओवादी बलिदान भयो त्यसरी टिक्न सकेन। पहिचान र निर्वाचन प्रणालीमा पनि कमजोर भयो। प्रदेशलाई अधिकारसम्पन्न बनाउन सकेन।’

माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दलाई राष्ट्रियसभामा पठाएको छ।
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update