Public Pana
 लगातार चौथो पटक बंगलादेशकी प्रधानमन्त्री शेख हसिना 

पछिल्ला १५ वर्षदेखि बंगलादेशका प्रधानमन्त्रीको रुपमा शेख हसिनाले विवादास्पद चुनावमा जीत हासिल गरेर चौथो पटक कार्यकाल प्राप्त गरेकी छिन् ।

शेख हसिनाको पार्टी अवामी लीग तथा उनका सहयोेगीले २९९ संसदीय सीटहरुमध्ये कम्तिमा १५२ सीट जित्न सफल भएका छन् ।

एक जना उम्मेदवारको निधनका कारण चुनाव अहिलेलाई स्थगित गरिएको थियो ।
बंगलादेशका मुख्य विपक्षी दल बीएनपी अर्थात बंगलादेश नेशनलिस्ट पार्टी र यसका सहयोगीले चुनावलाई वहिष्कार गरेका छन् । त्यसैले शेख हसिनाको पार्टी र सहयोगीले बाँकी सीट पनि जित्ने सम्भावना बढेको छ ।

मतदान देखावटी मात्र भएको बीएनपीको आरोप छ । आइतवार चुनावको परिणाम बीएनपी नेता र उनका समर्थकहरुको सामूहिक पक्राउ परेपछि आएको हो । चुनाव परिणाम आधिकारिक रुपमा सोमवार घोषित हुने अपेक्षा रहेको छ ।

मतदानको तथ्यांक अत्यन्त कम भएको र करिव ४० प्रतिशत मात्र मतदान भएको आधिकारीक तथ्यांकबाट थाहा भएको छ ।

निर्दलीय उम्मेदवारले ४५ सीट जितेका छन् । निर्दलीय पनि अवामी लीगकै भएको बताइन्छ । त्यस्तै जातीय पार्टीले आठ सीट मात्र जितेको छ ।

पहिलो पटक सन् १९९६ देखि २००१ सम्म बंग्लादेशको प्रधानमन्त्री बनेकी शेख हसिनाको यो पाँचौं तथा लगातार चौथो कार्यकाल हो ।

चुनावमा आफ्नो मतदान गरेपछि सञ्चार माध्यमसंग कुरा गर्दै शेख हसिना भन्छिन् – ‘यो देशमा लोकतन्त्र कायम रहोस् भन्ने म निश्चित गर्न पूर्ण कोशिश गर्नेछु ।’

Sheikh_Hasina_1704702957.jpg

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update