Public Pana
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार [सूचीसहित]

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरु टुंग्याएको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार टुंग्याएको भन्दै सोमबार बिहान निर्णय सार्वजनिक गरिएको छ। 

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले गठबन्धनमा जुटेको सहमतिअनुसार १० वटै उम्मेदवारको नाम टुंगो लगाइएको बताएका छन्। 

जसअनुसार कोशी प्रदेशबाट (अन्य)मा कृष्ण सिटौला, मधेस प्रदेशबाट (अन्य)मा आनन्दप्रसाद ढुंगाना, बागमती प्रदेशबाट (अन्य)मा जीतजंग बस्नेत र महिलामा विष्णुदेवी पुडासैनी उम्मेदवार छनोट भएका छन्। 

यस्तै, गण्डकी प्रदेशबाट (अन्य)मा किरणवावु श्रेष्ठ र   (अपाङ्गता/अल्पसंख्यक)मा पदमबहादुर परियार छनोट भएका छन्। लुम्बिनी प्रदेशबाट (महिला)मा विष्णुकुमारी सापकोटा र कर्णाली प्रदेशबाट (अन्य)मा कृष्णबहादुर रोकाया छनोट भएका छन्। 

सुदूरपश्चिम प्रदेशबाट (अन्य)मा बलदेव बोहरा र (अपाङ्गता/अल्पसंख्यक)मा नारायणदत्त भट्ट छनोट भएका छन्।

Congres_NA_Candidate-1704675809.jpg

सत्तारुढ गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुँदा नेपाली कांग्रेसले १० उम्मेदवार उठाउने सहमति भएको थियो। गठबन्धनका अन्य दलहरु माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ जना उम्मेदवार उठाउने सहमति भएको थियो। 

संघीय संसद्‌को माथिल्लो सदन (राष्ट्रिय सभा)का १ तिहाई (२० जना) सदस्य (सांसद)को पदावधिक आगामी फागुन २० गतेदेखि सकिँदैछ। 

फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन्।

पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन हुनुपर्ने कानुनी व्यवस्थाअनुसार माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। राष्ट्रपतिबाट मनोनित बाहेक १९ जना सदस्य निर्वाचित गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो। 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update