Public Pana
उत्तर कोरियाली सर्वोच्च नेता  किम जोङ उनवारेका केही रहस्यमय कुरा जानी राखौं !

उत्तर कोरियाका शासक किम जङ-अन ४० वर्ष पुग्दैछन्। तर के यो साँच्चिकै हो?  उत्तर कोरियाली सर्वोच्च नेताको जन्मदिन ज्यानुअरी ८ मा भनेको ठानिएको छ। तर उनको वास्तविक जन्म मिति त्यही हो भन्नेमा सबैको एकमत छैन। 

किम जङ-अनबारेको रहस्य यो एउटा कुरामा मात्रै सीमित भने छैन। सन् २०११ मा शक्तिमा आएका उत्तर कोरियाली तानाशाहबारे पाँच वटा अनुत्तरित प्रश्नबारे यहाँ चर्चा गर्दैछौँ।

किम जङ-अन कहिले जन्मिएका हुन्?

हामीलाई पनि उनी ठ्याक्कै कहिले जन्मिएका हुन् भन्ने थाहा छैन।  “उनी जन्मिएको साल सन् १९८२ हो, १९८३ हो वा १९८४ हो भन्नेबारे धेरै बहस भएका छन्” अक्सफर्ड विश्वविद्यालयस्थित राजनीति विषयका लेक्चरर एडवार्ड होवेल बीबीसीसँग भने।

उनी जन्मिएको भनिएको दिन ८ ज्यानुअरीमा यो कम्युनिस्ट देशमा नियमित काम हुन्छ। जबकि उनका पिता किम जङ-इलको जन्मदिन फेब्रुअरी १६लाई साइनिङ स्टार अर्थात् चम्किलो तारा दिवसको रूपमा मनाइने गरिएको छ।   उनका हजुरबुबा किम इल-सङको जन्मदिन अप्रिल १५ लाई पनि सूर्यको दिवस अर्थात् डे अफ द सन्‌का रूपमा मनाइन्छ।

त्यसो त उनको मात्रै नभएर उनको परिवारकै कैयौँ कुराहरू रहस्यमयी छन्। उत्तर कोरिया विशेषज्ञ डा होवेल किमका सौतेनी भाइबारे धेरैलाई थाहा भएको र त्यसमध्ये एक जनाको सन् २०१७ मा मलेशियामा हत्या भएको बताउँछन्।

किम जङ-अनका बुवाका कम्तीमा चार जना श्रीमतीहरू रहेको ठानिएको थियो। तर उनको सम्बन्धबारे आम मानिसहरूलाई थाहा दिइएको थिएन। किमकी आमा को योङ हुई जापानमा जन्मिएको र सन् १९६०को दशकमा नृत्याङ्गनाको रूपमा काम गर्न उत्तर कोरिया पुगेको बताइन्छ।

उनलाई किम जङ इलको परिवारका सबैले मन पराउने गरेको बताइन्छ। किम योङ हुई सन् १९७३ मा जापान घुम्न जाँदा खिचेका तस्बिरहरू सन् २०१८ मा भेटिएका थिए।

कोरियन टाइम्सले जापानसँगको पारिवारिक पृष्ठभूमि र नृत्याङ्गनाको विगतका कारण उनीबारे उत्तर कोरियाले खासै प्रचार नगरेको विवरण प्रकाशन गरेको थियो। “दोस्रो विश्वयुद्धमा कोरियाली प्रायद्वीप कब्जा गरेको जापानमा जन्मिएको भन्ने बित्तिकै त्यहाँको सामाजिक वर्गमा निम्न तहमा घटुवा हुन्छ। तर उनले किम जङ इलसँग विवाह गरेका कारण उनको जीवनशैली विलासी थियो,” होवेल भन्छन्।

 किम जङ-अनकी श्रीमती को हुन्?

किम जङ-अन र रि सोल-जू

 

यसबारेमा पनि हामी यकिनसाथ भन्न सक्दैनौँ। हामीलाई के थाहा छ भने उनकी श्रीमती रि सोल-जू नाम गरेकी छिन्। तर उनीहरूले कहिले विवाह गरेका हुन् भन्ने यकिनसाथ भन्न सकिँदैन।

उनीहरूको विवाह सन् २००९ मा भएको अनुमानहरू छन्।

तर कमरेड रि सोल-जू बारे धेरै कम जानकारी मात्रै सार्वजनिक भएका छन्। के उनी पूर्व गायिका हुन् र प्रस्तुतिका क्रममा किम आकर्षित भएका थिए?

उनको नामसँग मिल्ने एक जना उत्तर कोरियाली गायिका छिन्। तर किमकी श्रीमती र ती गायिका एउटै व्यक्ति हुन् वा फरक भन्नेबारे आधिकारिक पुष्टि भएको छैन।

गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै एक जना सांसदले रि सोल-जूले सन् २००५ मा दक्षिण कोरिया भ्रमण गरेको आफूहरूले ठानेको बताएका छन्।

उनका अनुसार उनी एशियाली खेलकुद प्रतियोगितामा उत्तर कोरियाली खेलाडीहरूलाई हौसला दिने टोलीमा दक्षिण कोरिया गएकी थिइन्। उनले चीनमा गायनबारे अध्ययन गरेको पनि बताइएको छ।

उत्तर कोरियाले उनी किमकी श्रीमती भएको बाहेक कुनै पनि विवरण सार्वजनिक गरेको छैन।

 किम जङ-अनका कति जना सन्तान छन्?

किम जू-‍ए

तस्बिर स्रोत,REUTERS

यो पनि निश्चय गर्न कठिन उनको पारिवारिक जानकारी हो।

सन् २०१६ मा रि सोल-जू सार्वजनिक रुसमा देखा नपरेपछि गर्भवती भएको अनुमान गरिएका थिए। तर यो कुरा उनको परिवारले कहिल्यै पुष्टि गरेन।

त्यसअघि सन् २०१० र २०१३ मा उनीहरूका सन्तान जन्मिएको विश्वास गरिन्छ।

तर तिनीहरूमध्ये कुनै छोरा हुन् वा होइनन् र उनका उत्तराधिकारी बन्छन् वा बन्दैनन् भन्ने प्रस्ट छैन। तर हामीलाई उनीहरूबारे केही हदसम्म भने जानकारी छ।

उत्तर कोरियाली नेता आफ्नी छोरी किम जू-‍एसँगै सार्वजनिक कार्यक्रममा देखा परेका छन्।

उनी किमकी दोस्रो सन्तान भएको ठानिएको छ। करिब १० वर्षकी ती बालिकाबारे हामीलाई के पनि थाहा छ भने उनी सन् २०२३ मा मात्रै कम्तीमा पाँच वटा सार्वजनिक कार्यक्रममा उपस्थित भइसकेकी छिन्।

“उनका सन्तानबारे सबै कुरा हामीलाई थाहा भएकै छैन” डा होवेल भन्छन्।  किमकी छोरीको नाम उनका साथीसमेत रहेका अमेरिकी पूर्व बास्केटबल खेलाडी डेनिस रोडम्यानले सन् २०१३ मा सार्वजनिक गरेका हुन्।

“उनका अरू पनि सन्तान छन् तर उनीहरूबारे खासै जानकारी छैन। उनीहरूकी आमा को हुन् भन्नेबारे पनि हामीलाई थाहा छैन,” उत्तर कोरिया विज्ञ होवेल भन्छन्। 

 

मले छोरी किम जू-‍एलाई आफ्नो उत्तराधिकारी बनाउन लागेको विश्लेषण भइरहेका छन्।  दक्षिण कोरियाली गुप्तचर निकायको दाबी पनि यही छ। तर डा होवेल किमले छोरी किम जू-‍एलाई उत्तराधिकारी बन्ने गरी हुर्काइरहेको विश्वास गर्दैनन्।

उनी अझै सानै छिन् र किमकी बहिनी किम यो जङ निकै प्रभावशाली छिन्।  उनी धेरै अनुभवी हुनुका साथै त्यहाँको सभ्रान्त वर्गसँग राम्रो सम्बन्ध स्थापित गरेकी छिन्। जसले उनलाई आफ्ना दाजुको उत्तराधिकारीको बलियो दाबेदार बनाएको छ। स्राेत  विविसी नेपालीवाट 

 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update