Public Pana
डाक्टर, नर्स पढाऔं विदेशमा १८/२० लाख कमाउँछन्, ३० हजार खान खाडी किन पठाउने?

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डाक्टर र नर्स उत्पादन गरी विदेश पठाएर धेरै पैसा कमाउन ध्यान दिनुपर्ने बताएका छन्।

आइतबार कान्ति बाल अस्पतालको वार्षिकोत्सबमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले खाडीमा ३० हजार रुपैयाँ कमाउनुभन्दा डाक्टर र नर्स प्रशस्त उत्पादन गरी विदेश पठाउँदा २० लाखसम्म कमाइ हुने बताएका हुन्।

उनले विदेशमा डाक्टर र नर्सलाई धेरै तलब तथा इज्जत, मान, प्रतिष्ठा पनि हुने भएकाले  अब यो क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए। उनले त्यसका लागि कदम पनि अगाडि बढाइएको बताएका छन्।

‘यदी हामीले विदेश पठाउने नै हो भने पनि नेपाली ३० हजार खानलाई खाडीमा किन पठाउने? डाक्टर जसले स्वत १८, २० लाख पाउँछ, नर्सिङ जसले ८, १० लाख महिनाको लिन सक्नुहुन्छ। धेरै डाक्टर, नर्स पढाउँदा ठूलो स्रोत आउँछ, इज्जत हुन्छ, सम्मान हुन्छ, मान, प्रतिष्ठा हुन्छ।’ मन्त्री बस्नेतले भने, ‘त्यसकारणले यो क्षेत्रमा विशेष ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। यसका लागि हामीले कदम पनि अगाडि सारेका छौ।’ उनले डाक्टर र नर्स प्रशस्त उत्पादन गर्नका लागि चिकित्सा शिक्षा ऐन संसोधन गरेर चिकित्सा शिक्षा विधाको अध्ययन खुकुलो गराउनुपर्ने बताए। 

मन्त्री बस्नेतले सरकारी अस्पतालमा १०० देखि ३०० वेडका अस्पतालमा नर्सिङ र पारामेडिक्स र ३०० वेडभन्दा माथिका अस्पतालमा एमबीबीएस अध्ययन गराउन दिने व्यवस्था हुनुपर्ने बताएका छन्। त्यसका लागि स्वास्थ्य मन्त्रालयले निर्णय गरेर चिकित्सा शिक्षा आयोगलाई समन्वयका लागि पत्र लेखिसकेको पनि जानकारी दिए। 

बन्त्री बस्नेतले मन्त्रिपरिषद्, विभिन्न दलका नेता, सभामूख तथा आफ्नै दलको पार्टी सभापति सामु पनि  उक्त कुरा गरेको  भन्दै सबैले नेपाललाई चिकित्सा शिक्षाको हब बनाउनुपर्ने बताएको समेत जिकिर गरेका छन्। 

‘मन्त्रिपरिषद्मा पनि यो कुरा राखेको छु। संसदबाटै पास गर्नुपर्ने भएकाले सम्माननिय सभामुख ज्युलाई पनि मैले कुरा राखे। पार्टीका नेताहरुलाई पनि मैले यो कुरा राखँे। मैले मेरै पार्टीका सभापति शेरबहादुर देउवाज्युलाई पनि यो कुरा राखेँ। उनले भने, ‘सबैको एउटै स्वर छ नेपाललाई चिकित्सा शिक्षाको हब बनाऔं, सबैको एक स्वर छ।’

उनले भारतमा वार्षिक १९ लाखले मेडिकल शिक्षाका लागि आवेदन दिने, तीमध्ये ९ लाखले प्रवेश परीक्षा पास गर्ने र एक लाखले मात्र पढ्न पाउने गरेको उल्लेख गर्दै परीक्षा पास गरेका ९ लाखमध्ये ५० हजारलाई नेपालमा ल्याएर पढाउन सके अर्बौ पैसा कमाउन सकिने पनि बताए।

‘विदेशी विद्यार्थीलाई पनि हामीले भूमिका दिन समावेश गर्न सक्यौ भने अर्बौ पैसा आउछ।’ विदेशी विद्यार्थीलाई पनि हामीले भूमिका दिन समावेश गर्न सक्यौ भने अर्बौ पैसा आउँछ। भारतमा मात्रै वार्षिक १९ लाख मान्छेले डाक्टर पढ्न आवेदन दिँदा रहेछन्। परीक्षामा ९ लाखले पास गर्दा रहेछन्। एक लाखले पढ्न पाउँदा रहेछन्।,’ उनले भने, ‘त्यो ९ लाख जाँच पास गरेकामध्ये ५० हजारलाई नेपालमा ल्याएर पढाउन सके के हुन्छ? कल्पना गरौं न। २५ हजारलाई नै ल्याएपनि के हुन्छ?’  

नेपालमै सरकारी अस्पतालहरुमा चिकित्सक र नर्स लगायत स्वास्थ्य जनशक्तिको दरवन्दी कम छ। पर्याप्त जनशक्ति नहुँदा अस्पतालमा बिरामीले समयमै उपचार पाउन समस्या छ।  कामको चाप बढी छ तर तलबसुविधा भने राम्रो नभएको गुनासो कार्यरत स्वास्थ्य जनशक्तिको छ। तर स्वास्थ्यमन्त्री बस्नेतको ध्यान त्यसतर्फ गएको छैन। उनले प्रशस्त स्वास्थ्यका जनशक्ति विदेश पढाउने र अर्बौ पैसा नेपालमा आउने भन्दै त्यसमा आफूले कदम समेत चालेको बताएका छन्।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update