Public Pana
टुटलका प्रमुखलाई हाजिरी जमानीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश

जिल्ला अदालत काठमाडौंले टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न आदेश जारी गरेको छ। न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो।

आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐन सम्बन्धी कसुरको मुद्दामा अदालतले प्रतिवादीलाई थुनामा नै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको  भन्दै चाहेको समयमा अदालत उपस्थित हुने गरी रिहा गर्न आदेश गरेको हो। 

 

अदालतमा अदालत समक्ष उपस्थित गराइएका भट्टका तर्फबाट वरिष्ठ अधिवक्ता लव कुमार मैनाली र सूर्यप्रसाद कोइरालाले बहस गरेका थिए। यस्तै अदालतले जिल्ला प्रहरी परिसर टेकुको मिसिल अध्ययनसमेत  गरेको थियो। भट्टविरुद्ध उनीसँगै कम्पनीमा शेयर सदस्य रहेका ४ जनाले जाहेरी दिएपछि पक्राउ परेका थिए। 

‘यसमा यिनै जाहेरवालाले यी प्रतिवादीविरुद्ध उच्च अदालतमा प्रस्तुत मुद्दासँग सम्बन्धित विषयमा दिएको निषेधाज्ञाको मुद्दा दायर गरी यसअघि असोज २१ गते अन्तरिम आदेशको निरन्तरता नहुने गरी आदेश भैसकेको अवस्था देखिँदा सोही विषयमा यी प्रतिवादीलाई थुनामानै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिँदा प्रतिवादीलाई हाजिरी जमानीमा राखी मुद्दा अनुसन्धान गर्नु भनी प्रस्तुत आदेश गरिदिएको छ’, अदालतको आदेशमा भनिएको छ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update