Public Pana
पत्रकार विजय रानालाई प्रहरीले गरेको कुटपिटप्रति आपत्ति

नेपाल पत्रकार महासंघले महासंघ बागलुङ शाखाका सचिव विजय रानालाई समाचार संकलनका क्रममा प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति आपत्ति जनाएको छ।

महासंघ बागलुङ शाखाका अनुसार पुस २१ गते शनिबार बागलुङको धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा चलिरहेको बागलुङ महोत्सव हेर्न आएका सर्वसाधारणमाथि महोत्सव सकेर निस्कने क्रममा राति १०ः३० बजेको समयमा प्रहरीले लाठीचार्ज गरेको थियो।

सोही घटनाको तस्बीर तथा भिडिओ खिच्ने क्रममा प्रहरीले पत्रकार रानालाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाउनुका साथै उनको मोबाइल फोनसमेत खोसेको शाखाले जनाएको छ।

‘संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको उपभोगका क्रममा पत्रकारमाथि प्रहरीबाट भएको यो ज्यादती प्रेस स्वतन्त्रताविरुद्ध हुनुका साथै अत्यन्त निन्दनीय हर्कत हो’ महासंघले आइतबार विज्ञप्ति जारी गरी भनेको छ, ‘नागरिकको सुरक्षाको जिम्मेवारी वहन गर्ने प्रहरीबाट भएको यो घटनाले प्रेसको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेको थप दर्साएको छ।’

प्रेस स्वतन्त्रताविरुद्धको यो ज्यादतीमा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र पत्रकारको सुरक्षामा गम्भीर बन्न महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।
साथै, घाइते पत्रकार रानाको उपचारको व्यवस्था गर्न पनि माग गर्दछ।

यसैबीच, प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष श्याम पोखरेलले पनि विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गरेका छन्।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव राना प्रगतिशील पत्रकार संघका पनि जिल्ला सचिव हुन्।
 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update