Public Pana
त्रिविको उपकुलपतिका लागि  गरिएकाे विज्ञापन रद्द,  पुन: जारी हुने

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि यसअघि जारी भएको विज्ञापन रद्द भएको छ। उपकुलपतिमा दरखास्त पेस गर्न विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको भन्ने व्यवस्था गरिएपछि व्यापक विरोध भएको थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त व्यवस्था हटाएर पुन: विज्ञापन जारी गर्न निर्देशन दिएपछि यसअघि पुस २० गते, शुक्रबार प्रकाशित भएको विज्ञापन रद्द भएको हो। 

यसअघि प्रकाशित विज्ञापनमा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको बेहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्ने उल्लेख थियो। 

 

 

TU_Notice_correction-1704591642.jpg

उक्त व्यवस्थाको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री प्रचण्डले  विज्ञापनमा कसैलाई पनि बन्देज हुने गरी व्यवस्था नगर्न र देश तथा विदेशबाट समेत प्रतिस्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए। 

प्रधानमन्त्रीको निर्देशनानुसार अर्को विज्ञापन जारी गर्नका लागि शुक्रबार विज्ञापन रद्ध गरिएको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले जानकारी दिएको छ। 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update