Public Pana
राष्ट्रिय सभाको सिट बाँडफाँटबारे गठबन्धनमा सहमति, आइतबार अन्तिम रुप दिइने

 राष्ट्रिय सभा निर्वाचनका लागि सिटहरुको बाँडफाँटबारे निर्णय गर्न सत्तारुढ गठबन्धनका दलहरु आज (आइतबार) पनि छलफल गर्दैछन्। 

यसअघि शनिबार अबेरसम्म बसेको गठबन्धनको बैठकमा दलहरुले राष्ट्रिय सभा सिट आ–आफ्नो दाबी गरेका थिए। शनिबार बेलुकी बसेको बैठकमा दलहरुबीच मोटामोटी सहमति भएको समेत नेताहरुले बताएका छन्। 

माघ ११ गते निर्वाचन हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १० सिट, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सिट लिने भन्ने मोटामोटी सहमित भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन्। 

 

यद्यपि एकीकृत समाजवादीले भने आन्तरिक छलफलका लागि समय माग गरेको छ। आवश्यक देखिएका दलहरुले आन्तरिक छलफल गरेपछि आइतबार पुन: गठबन्धनको बैठक बस्ने नेताहरुले जानकारी दिएका छन्। 

शनिबार राति १२ बजेसम्म गठबन्धनको बैठक बसेको थियो। 

राष्ट्रिय सभामा आगामी फागुन २० गते राष्ट्रपतिबाट मनोनीत १ जनासहित २० जनाको पदावधि सकिँदै छ। पदावधि सकिनेमा एमालेबाट सबैभन्दा बढी ८ जना, कांग्रेसबाट ४ जना, माओवादी केन्द्रबाट ३ जना, एकीकृत समाजवादीबाट २ जना, जनता समाजवादी पार्टी (जसपा) बाट १ जना, स्वतन्त्र १ जना, मनोनित (एमाले) १ जनाको पद रिक्त हुँदैछ।

माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ। जसअनुसार आज (आइतबार) मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेदवारको मनोनयपत्र सोमबार दर्ता हुनेछ। 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update