
अमेरिकाको पोर्टल्यान्ड (ओरेगन) बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना भएको छ।
बीबीसीका अनुसार हावाको दबाबमा उडानकाे एक भाग विमानबाट भाँचियो र अलग भयो तर, विमान सुरक्षित अवतरण भएको छ। स्थानीय समयानुसार शुक्रबार साँझ उक्त दुर्घटना भएको हो ।
अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार उक्त विमान पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको बताइएको छ।
अलास्का एयरलाइन्सले विज्ञप्ति जारी गरेर भनेको छ, ‘पोर्टल्यान्ड, ओरेगनबाट क्यालिफोर्नियाको ओन्टारियोका लागि अलास्का एयरलाइन्सको फ्लाइट १२८२ शुक्रबार साँझ टेकअफ भएको केही समयपछि एउटा घटना भयो। विमानमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रा यात्रु र कर्मचारीको सुरक्षा सधैँ हाम्रो प्राथमिकता हो। तथापि, यस प्रकारको घटना दुर्लभ हो। हाम्रो टोलीलाई त्यस्ता परिस्थिति ह्यान्डल गर्न तालिम दिइएको छ। घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ, थप जानकारी आएपछि सार्वजनिक गर्नेछौँ।’
उक्त विमान निर्माण गर्ने बोइङ एयरलाइन्सले पनि विज्ञप्ति जारी गरी आफूहरू यस दुर्घटनाप्रति सचेत रहेको र आफ्ना ग्राहकबाट थप जानकारी संकलन गरिरहेको जनाएको छ। मानिसहरूले उक्त विमानका तस्बिर र भिडिओ सोसल मिडियामा सेयर गरेका छन्।
सवै उडानमा राेक लगाइयाे
अमेरिकामा उडिरहेका बेला झ्यालसहित एउटा भाग भाँचिएर खसेपछि अलास्का एयरलाइन्सले आफ्ना सबै विमानलाई उडान गर्न रोक लगाएको छ।
स्थानीय समयानुसार शुक्रबार साँझ अमेरिकाको पोर्टल्यान्ड (ओरेगन बाट ओन्टारियो (क्यालिफोर्निया) का लागि अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ उडेको केही मिनेटपछि झ्यालसहितको बाहिरी भाग खसेको थियो।
तर विमानलाई पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको र १७१ यात्रु र चालक दलका ६ जना सकुशल रहेको अलास्का एयरलाइन्सले जनाएको छ।
उक्त घटनापछि अलास्का एयरलाइन्सले आफ्ना सबै ६५ बोइङ ७३७ म्याक्स ९ विमानलाई ‘अस्थायी रूपमा’ उडान गर्नबाट रोक लगाएको हो। अब सबै विमान निरीक्षण गरेर मात्र उडान गर्न अनुमति दिने बीबीसीले जनाएको छ।