Public Pana
प्रतिफल आउने क्षेत्रमा मात्र राज्यले खर्च गर्छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिफल आउने क्षेत्रमा मात्र राज्यले खर्च गर्ने बताएका छन्। उद्योग वाणिज्य सङ्घ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनको कार्यक्रममा शनिबार बोल्नुहुँदै उनले सो तर्क गरेका हुन्।

उनले अब उत्पादनमा सरकारको ध्यान जानेमा जोड दिए। मन्त्री महतले भने, 'उत्पादन हुने उद्योग व्यवसाय गर्न लगाउने वातावरण बनाउने छौँ। यहाँ धेरै अवसर छन्। आइटी, टुरिजम, नयाँ व्यवसाय गर्नका लागि सरकारको योजना छ।'

अर्थमन्त्री महतले अर्थतन्त्र लयमा आउन थालेको बताए। उनले भने, 'कसैले भन्दैमा हुँदैन हाम्रा तथ्याङ्कले सुधार उन्मुख देखाएको छ। अर्थतन्त्र खतम भयो भनेर विदेश जान खोज्नेहरूले सोचे हुन्छ, अब सुधार हुँदैछ।' 

 

'अर्थतन्त्रमा सुधारको सकारात्मक प्रभाव पर्यटनको क्षेत्रमा देखिएको छ। नेपाल घुम्न आउने बाहिरका पर्यटक धेरै भित्रेको तथ्याङ्कले देखाएको छ। हल्ला र प्रचारको पछाडि नलाग्न अनुरोध गर्दछु', उनले भने।

सामाजिक सञ्जालमा आएको गलत हल्लाको पछाडि नलाग्न अनुरोध गर्नुहुँदै मन्त्री महतले भने, 'आउने दिन अत्यन्त राम्रो हुँदैछ। अर्थतन्त्रले देखाउने छ।'

'देशमा अर्थतन्त्र समस्यामा थियो। अझै धेरै कुरा गर्न बाँकी छ। बिग्रदोबाट सुधार हुँदैछ। खतम भएको छैन', उनले भने, 'मूल्य वृद्धि घट्दो क्रममा छ। हचुवाको भरमा बोल्न हुँदैन। उद्योग व्यवसाय अहिले घाटामा छ। कोभिडको समयमा समस्या थियो। शेयर मार्केट र जग्गामा लगानी गर्‍यौँ।'

कोभिडको समयमा जग्गा र शेयर मार्केटमा लगानी गरेकाहरूको पैसा डुबेको उनको भनाइ थियो। उनले कोभिडको समयमा अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नभएका कारण शेयर मार्केट र जग्गामा लगानी गर्नुपरेको बताए।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update