Public Pana
राष्ट्रिय सभा निर्वाचनमा  एमालेलाई सिट नदिने  गठबन्धनका दलहरुबीच  सहमति

राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो।

बैठकका निर्णय सुनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धनभित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए। 

 

उनले सरकारमा सहभागी दलहरुको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए। 

उनले भने, ‘सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भयो। राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयलाई लिएर। आज पुनः ४ बजे बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरुको बैठक बस्नेछ। सबैको बैठकबाट राष्ट्रिय सभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको छ। गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुन्छ। सरकारमा सहभागी सहयोगी दलहरुबीचको छलफल र निर्णयले टुंगोमा पुग्छ। सरकारमा सहभागी दलहरुको गठबन्धनले चुनाव लड्छ। सत्ता गठबन्धनमा पनि आफ्नो आफ्नो हिसावले दाबी गर्नुभएको छ, पार्टीहरुले। साँझसम्ममा टुंगोमा पुग्छौं।’

सत्ता गठबन्धनले सदासयतापूर्वक एउटा वृहत लोकतान्त्रिक धारणाका साथ सकिन्छ भने सत्ता र प्रमुख प्रतिपक्ष, प्रतिपक्षका बीचमा मिलेरै जान सकिन्छ कि भन्ने रहे पनि सम्भव नभएको उनले बताए। 

‘देशभरको मतको स्थितिलाई मध्यनजर गरेर र कसको राष्ट्रिय सभामा कति स्थान छ, मतभार कति कसको छ भन्नेकुरालाई मध्यनजर गरी हामी टुंगोमा पुग्छौं,’ उनले भने।

प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुने बताए।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update