Public Pana
सात घोडाको वास्तु : नक्कल र समस्या

भरतमणि ज्ञवाली 

पछिल्लो समयमा वास्तुशास्त्रका विषयमा सामाजिक चासो बढेको देखिन्छ । घर, डेरा या कार्यालयमा वास्तु     सकारात्मक बनाउनुपर्छ भन्ने मान्यतामा सामाजिक संजालको सहजताले विस्तारै यस शास्त्रप्रतिको जागरुकता बढाएको छ । सामाजिक संजालको सहज पहुँचले जागरुकता संगै नक्कल गर्ने प्रवृत्तिलाई पनि उत्तिकै बढावा दिएको पाइन्छ । कसैले भनेको या कर्ही देखेकै भरमा आफूले त्यसैको नक्कल गर्ने प्रवृत्ति यस क्षेत्रमा मौलाउँदो छ ।

कसले कुन प्रयोजनका लागि कस्तो वस्तुको प्रयोग किन गरेको छ भन्ने नबुझी प्रयोग गरिहाल्नेहरु बढ्दै गएकाछन् । जसले गर्दा वास्तुशास्त्रको सत्यता र गाम्भीर्यतामा समस्या देखिन थालेको छ । सुनेकै भरमा या कसैले प्रयोग गरेको देखेका भरमा थप वास्तविकता नबुझी अवलम्बन गरिहाल्ने गर्दा वास्तु सतही विषय बन्न पुगेको छ । अधिकांश आवास तथा कार्यालयहरुमा वास्तु सकारात्मक बनाउन भन्दै दौडिरहेको घोडाको तस्वीर राख्ने गरेको विषयमा चर्चा सान्दर्भिक होला । Ghoda1704518921.JPG

अचेल दौडिरहेको घोडाको तस्वीर अत्यधिक प्रयोग भइरहेको देखिन्छ । तर, किन यसको प्रयोग गरियो भन्ने सबै प्रयोगकर्ताले बुझेकै हुदैनन् । प्रयोग भने गरिरहेका हुन्छन् । भित्तामा लगाएको दौडिरहेका घोडाको चित्रबारे सही बुझेर प्रयोग गर्नेहरुले भने यसको राम्रै लाभ उठाइरहेकाछन् ।

कुनै वस्तुको सही उपयोग भयो भने त्यसको परिणाम पनि सकारात्मक हुन्छ भने जथाभावी प्रयोग गर्दा अनावश्यक खर्च र नकारात्मक प्रभावको सामना गर्नुपर्ने हुन्छ । हरेक वस्तुको स्थान, आकार, रंग जस्ता कुराले वास्तुमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसबारे बुझेर सही स्थान, उपयुक्त रंग र प्रयुक्त आकारयुक्त वस्तुलाई वास्तु उपचारमा प्रयोग गर्न जान्ने हो भने मात्र त्यसले सकारात्मक परिणाम दिनसक्छ ।

वस्तु र व्यक्तिबीचको सम्बन्ध पनि फरक फरक हुने भएकाले अरुको नक्कल गर्दा थप नकारात्मक र घातक हुन सक्छ । कुनै बस्तु कसैको जीवनमा सकारात्मक हुन्छ भने त्यही वस्तु अर्को व्यक्तिकालागि नकारात्मक हुनसक्छ । सात घोडाको तस्वीर पनि स्थान, व्यक्ति, आकार र रंग अनुसार फरक फरक प्रभाव दिने हुन्छ । सबैभन्दा पहिले घोडाका बारेमा सामान्य विषयमा ज्ञान राख्दा त्यसको प्रभाव अनुमान गर्न सजिलो हुन्छ ।

घोडा मानिसको निकै पुरानो मित्र हो । परापूर्वकालमा घोडाको प्रयोग अधिक मात्रामा थियो भने अहिले त्यो स्थान यन्त्रमा परिणत भएको छ । मानिसले आफ्नो सुविधाकालागि घोडाको प्रयोग गर्दैै आएको हो । यात्रा गर्न या वस्तु ओसार पसार गर्न घोडा मानिसको भरपर्दो माध्यमका रुपमा स्थापित छ । लामा खुट्टा, बलियो मांसपेशी, चारैतिर घुम्ने आँखा र बलियो प्राणी घोडा हेर्दा मात्र पनि मानिसमा उमंग आउँछ ।

घोडालाई उत्साहको पर्यायका रुपमा पनि लिन सकिन्छ । भनिन्छ घोडाका दुई आँखामध्ये एकै चोटी एउटाले अगाडी र अर्को आँखाले पछाडिको दृश्य अबलोकन गर्न सक्छ । घोडा शक्तिशाली हुन्छ । घोडाको शक्ति अन्य प्राणीको भन्दा स्थायी पनि हुन्छ । अहिले विभिन्न मेशिनहरु निर्माण भए पनि त्यसमा प्रयोग हुने शक्तिलाई हर्ष पावरमा उल्लेख गरिन्छ । उभिएरै निदाउने भएकोले घोडाको चलाखी उल्लेखनीय छ । घोडाको अर्को महत्वपूर्ण विशेषता भनेको उसको भावना हो । मानिससँग घोडाको भावनात्मक सम्बन्ध अत्यन्तै मित्रतापूर्ण गहिरो हुन्छ । 

शक्ति र प्रसिद्धिको परिचायक घोडाको चित्र घर या कार्यालयमा लगाउँदा सम्बन्धित व्यक्तिको विचारमा सकारात्मकता उत्पन्न हुन्छ । त्यसैले अचेल घोडाको चित्र झुण्ड्याउने चलन जस्तै बनेको छ । उर्जावान घोडाको चित्रले हाम्रो मानसिकतामा पनि सकारात्मक उर्जा सिर्जना गर्छ । वास्तु वस्तुको सकारात्मक प्रतिस्थापन विधि हो ।

वातावरणको सकारात्मकता नै वास्तुको सकारात्मकता हो । आन्तरिक सजावटसँगै सकारात्मक वास्तुको अपेक्षा गर्दै घोडाको चित्र राख्दा जीवन या व्यवसाय दौडिन्छ भन्ने सुनेकै भरमा यसको प्रयोग गरिनु भने हुँदैन । सामाजिक संजालमा घोडाको तस्वीरले वास्तु सुधार्न सकिन्छ भन्ने सुनेकै भरमा यसको प्रयोग गर्दा लाभभन्दा हानी पनि हुनसक्छ । जताततै देखिने घोडाको चित्रले तस्वीरको व्यवसाय त दौडिरहेको होला तर सबै प्रयोगकर्तालाई भने सुताएको हुनसक्छ । किनकि जगत पञ्च महाभूतबाट सिर्जित छ ।

प्रकृतिमा पञ्चतत्व (पृथ्वी, जल, अग्नि, वायु र आकाश) छ र पदार्थमा विभिन्न तत्वहरुको समिश्रण छ । प्रत्येक वस्तुले यही पाँच तत्वमध्ये कुनै न कुनै तत्वको प्रतिनिधित्व गरेको हुन्छ । ‘वास’ अर्थात् निवासमा यीनै तत्वको सन्तुलन मिलाउनु नै वास्तु हो । वास्तुशास्त्रका अनुसार हरेक वस्तुमा आफ्नै उर्जा हुन्छ र त्यो उर्जालाई प्राकृतिक उर्जा विपरित प्रयोग गरिनु हुँदैन । विपरित प्रयोग भयो भने परिणाम उल्टो हुनजान्छ । 
घर या कार्यालयमा टाँगिने सात घोडाको तस्वीर पनि सम्बन्धित तत्वसँग मेल खाने खालको हुनुपर्छ । पहिलो कुरा त सात घोडाको तस्वीर चयन गर्दा विशेष ध्यान दिनुपर्छ । घोडाको आकृतिसँगै अनुहारको भाव पनि ख्याल राख्नुपर्छ । चित्रमा रहेका घोडाको रंगको महत्वपूर्ण अर्थ हुन्छ ।Ghoda 11704523047.JPG

आकृतिको पर्दामा प्रयोग भएको रंगको प्रभावमा विशेष ध्यान दिनु जरुरी हुन्छ । आकृतिको पर्दामा प्रयुक्त थप आकृतिहरुको पनि अध्ययन गरिनु पर्छ । जस्तो कि आर्थिक सम्पन्नता तथा स्थीरताको लागि सूर्योदयसहितको, शान्ति र प्रगतिका लागि चन्द्रमासहितको, सफलता र सकारात्मकताका लागि समुद्रबाट निस्किदै गरेको सात घोडाको तस्वीर । यसरी चयन गरिएका विभिन्न आकृति र रंगले फरक फरक ग्रहहरुको प्रतिनिधित्व गरेका हुन्छन् । रातो रंग भएको चित्रले मंगल ग्रहको प्रतिनिधित्व गर्छ भने निलो रंगले शनि ग्रहको प्रतिनिधित्व गरेको हुन्छ । शनि र मंगलको दिशा फरक फरक हुन्छ ।

दक्षिणमा लगाउनु पर्ने पश्चिम र पश्चिम लगाउनु पर्ने चित्र दक्षिणमा भयो भने त्यसले नकारात्मक उर्जा सिर्जना गर्छ । चित्रको पृष्ठभूमिको प्रकृति र त्यसमा अंकित घोडाको रंगको आधारमा पनि सजगता अपनाउनु पर्छ । कालो रंग शनि, सेतो चन्द्रमा, खैरो राहु, रातो मंगल तथा सुन्तला रंग सूर्यको प्रतिनिधित्व गर्छ । पृष्ठभूमिको रंग र त्यहाँ अंकित चित्रको रंगको संयोजनलाई पनि ध्यान दिनुपर्छ । कसैको घरमा देखिएको चित्रका प्रकृति अध्ययन नगरी घरमा ल्याउनुले सकारात्मक प्रतिफल दिन्छ भन्ने आधार प्रमाणित हुँदैन । 


अहिले बजारमा पाइने घोडाका चित्रहरु घर र कार्यालयमा राख्ने होड नै चलेको छ । तर कुन प्रकृतिको चित्र कहाँ प्रयोग गर्दा उचित लाभ लिन सकिन्छ भन्ने कुराको विषयमा सचेतता अपनाएको भने पाइदैन । देखेकै भरमा वास्तु भन्दै वस्तुहरुको जथाभावी प्रयोगले मूल वास्तुमा गडवढी आउन थालेको छ ।

घोडाको चित्र लगाउँदा त्यहाँ अंकित घोडाको संख्यामा पनि ख्याल गर्ने गरेको पाइदैन । कतै एउटामात्र घोडा पनि भित्तामा राख्ने गरेको पाइन्छ । खासमा सातभन्दा कम संख्यामा अंकित घोडाको तस्वीर लगाउँदा विशेष ध्यान दिनुपर्छ । विशेष परिस्थिति र अवस्थाको उपचारमा अन्य संख्यालाई प्रयोग गरिए पनि मूलतः सातको संख्या नै उपयुक्त हो । सात रंग, सात ऋषि, सात चक्र, सात ग्रह जस्ता विविध पक्षको विचार गरेर संख्या निर्धारित हुन्छ । तसर्थ कसैको नक्कल गरेर वास्तु उपचार हुन सक्दैन । जसले गर्दा समस्या कम हुनुको साटो थप बल्झिन सक्छ । योग्य वास्तुशास्त्रीसँग परामर्श गरेरमात्र वस्तुको प्रयोग गर्नु बुद्धिमानी हुन्छ  ।
 
लेखक दक्षिण एशियाली ज्योतिष महासंघका कार्यवाहक महासचिव हुन् । 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update