Public Pana
प्रतिपक्ष एमाले सत्ता गठवन्धन र प्रचण्डसँग  किन खुसुखुसु भेट्दै छ

सत्ता गठबन्धनको लगातार छलफल चलिरहेको छ। राष्ट्रिय सभाको निर्वाचनका लागि भागबन्डाका मिलाउन बसिरहेको सत्ता गठबन्धनको वैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि मिसिएको छ। एमाले मिसिएसँगै सत्ता गठबन्धनमा गडबढ पनि सुरु भएको छ।

नेकपा एमाले राष्ट्रिय सभामा ६ सिट माग गरेको छ। तर सत्ता गठबन्धन अहिले एक सिट पनि नदिन नहुने देखि एमालेलाई पनि सँगै लिएर हिड्नुपर्ने दुईधारमा उभिएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्र एमालेलाई पनि सँगै लैजानुपर्ने पक्षमा छ भने एकीकृत समाजवादीले प्रतिपक्ष सत्तासँगै भागबन्डामा सहभागी गराउन नहुने पक्षमा छ।

मंगलबारदेखि सुरु भएको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई पनि सँगै जान खोजेको कुरा ब्रिफिङ गरेका थिए। यो ब्रिफिङसँगै सत्ता गठबन्धनमा धेरै आशंका अनि एमालेले खेल्न खोजेको श्वर एकै पटक सुनिन थालेको छ।

टीआरसी देखाएर  सत्ता गठवन्धनमा खेल्न खाेज्दै छ एमाले?
एमालेले अहिलेको सत्ता गठबन्धनभित्र छिर्नका लागि एक सुत्र बनाएको छ त्यो हो संक्रमणकालीन न्याय सम्बन्धी विधेयक। उक्त विधेयक लामो समयदेखि रोकिएको र यो अधिवेशनमा जसरी पनि पारित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रयास गरिरहेका छन्। 

उक्त विधेयक संसद्को मानव अधिकार समितिमा विचाराधीन छ। मानव अधिकार समितिबाट पारित गर्दै संसदमा पुर्‍याउने अनि राष्ट्रिय सभाबाट पारित गरेर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रधानमन्त्री प्रचण्डको प्रयास छ। जसरी पनि यो विधेयक टुंग्याउने प्रधानमन्त्रीको प्रयासलाई देखेर एमालेले यही कुरालाई बार्गेनिङ गरिरहेको सत्ता गठबन्धनभित्रकै दलको आरोप छ। 

 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनको बैठकमै एमालेसँगको सहकार्य अस्वीकार गरे। उनले सत्ता गठबन्धनभित्र प्रतिपक्षलाई पनि भागबन्डा लगाउन खोज्नु गलत हुने भन्दै अस्वीकार गरेपछि बैठकमा सहमति हुन सकेन। सत्ता गठबन्धनभित्रै नेपाली कांग्रेसको एक पक्षले भने विरोध गर्दै आएको छ। शेखर कोइरालाले सामाजिक सञ्जालमा लेखेर नै एमालेको इन्ट्रिलाई अस्वीकार गरे।

‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्,’ उनले भनेका छन्। साथै गठबन्धनमा रहेका दलहरूलाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको आरोप लगाउँदै उनले एमालेलाई के चाहियो?’ भनेर प्रश्न गरेका छन्।

‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले?’, उनको भनाइ छ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि एमाले प्रतिपक्ष हुन नचाहेको टिप्पणी गरे। ‘प्रमुख प्रतिपक्ष दलले राजनीतिक ढंगले उभिने हो कि? यसो सिट लेनदेन गरेर हात थाप्दै बाँच्ने प्रश्न यो हो,’ पाण्डेले भने, ‘एमालेले यसरी लेनदेन गर्नु नीतिगत रूपमै ठीक हैन।’

तर, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग पनि सहकार्यकै छलफल चलेकाले गलत बुझ्न नहुने बताए। उनले एमालेलाई पनि साथै लिएर हिँड्दा कुनै गलत नहुने र अहिले प्रमुख दलहरुकाबीचमा सहमति आवश्यक भएको समय आएका कारण यो छलफल चलेको बताए।

उनले एमालेले टीआरसीमा बार्गेनिङ गरेको कुरा भने अस्वीकार गरे। सबैको सहमतिमा टुंग्याउनुपर्ने भएकाले एमालेसँग छलफल गरेको उनको दाबी छ। उनले एमालेले पनि राष्ट्रिय सभामा शून्य नहोस् र आफ्नो पनि उपस्थिति कायमै होस् भन्ने चाहनु राम्रो भएको बबताए। नेकपा एमाले नेताहरुले भने टीआरसी र राष्ट्रिय सभाको भागबन्डाबारे छलफलकै चरणमा भएकाले केही टिप्पणी नगर्ने बताए।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update