Public Pana
टी-२० विश्वकप : नेपाल, साउथ अफ्रिका, श्रीलंका र बंगलादेश एकै समूहमा

नेपाली टोली यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ मा परेको छ ।

प्राप्त समाचारअनुसार उक्त समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । टी–२० विश्वकप आगामी जुन ४ देखि ३० तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, अमेरिका र क्यानडा रहेका छन् ।

प्रतियोगिताको समूह ‘बी’ मा भने इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहेका छन् । प्रतियोगिताको समूह ‘सी’ मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी रहेको समाचारमा जनाइएको छ । प्रतियोगितामा सहभागी २० वटा टोलीलाई चार समूहमा विभाजन गरिएको हो । आफ्नो समूहमा रहेका प्रत्येक टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् ।

प्रतियोगिताको नवौँ संस्करणमा कुल ५५ वटा खेल खेलिने छ । प्रारम्भिक चरणको समाप्तिपछि प्रत्येक समूहबाट दुई–दुईवटा टोली प्रतियोगिताको ‘सुपर आठ’ चरणमा पुग्नेछन् । ‘सुपर आठ’ चरणमा पुग्ने आठवटा टोलीलाई पनि दुई—दुई समूहमा विभाजन गरिने छ ।

‘सुपर आठ’ चरणको समाप्तिपछि दुवै समूहमा सबैभन्दा माथि रहने दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि सेमिफाइनल र फाइनल खेल खेलाइने छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update