Public Pana
भारतीय विदेशमन्त्री भेट्न नेताहरुकाे द्धारिका हाेटलमा लर्काे

नेपालका शीर्ष नेताहरु भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न द्वारिका होटल पुगेका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनका लागि बिहीबार नेपाल आएका मन्त्री जयशंकरसँग नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एस)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बत्तिसपुतलीस्थित द्वारिका होटल पुगेर छुट्टा छुट्टै भेटघाट गरेका हुन् । 

त्यस्तै मधेश केन्द्रित दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पनि मन्त्री जयशंकरलाई भेट्न द्वारिका होटल पुगेका थिए । मधेसवादी दलका नेताहरुले भने मन्त्री जयशंकरलाई एकसाथ भेटेका छन् ।

विदेशमन्त्री जयशंकरले सबै नेताहरुलाई राजनीतिसँगै देश विकासमा जोड दिन सुझाव दिएका छन् । ठूला दलका नेताहरुसँग एक्लाएक्लै भेटेका उनले अब देशको विकासमा ध्यान दिन सुझाव दिएका छन् । देशको विकासमा ध्यान दिए जनताको आक्रोश आफै बन्द हुने धारणा मन्त्री जयशंकरले राखे छन् ।

मन्त्री जयशंकरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उदाहरण दिँदै देश निर्माणमा ध्यान दिएको कुरा स्मरण गराएका थिए । नेपालमा जलस्रोत र पर्यटनको सम्भावना धेरै भएको बताउँदै उनले जुन गतिमा काम हुनुपर्ने त्यो गतिमा काम नभएको प्रति गुनासो गरेको स्रोतले बताएको छ ।

मन्त्री जयशंकरले शीर्ष नेताहरुसँग भारतले दिने सहयोग पनि खर्च गर्न नसकेको भन्दै गुनासो गरेका थिए । नेपालको विकास निर्माणमा भारतले निकै र महत्वपूर्ण सहयोग गर्न चाहेको बताउँदै  उनले त्यसका लागि नेतृत्वकर्ता तयार हुनुपर्ने कुरा राखेका थिए ।

संविधान निर्माण भएको यतिका वर्ष बितिसक्दा पनि ऐन कानुन बन्न नसकेको भन्दै उनले नेपालका हरेक कुरामा राजनीति चलखेल हुने गरेको भन्दै गुनासो गरेका छन् । जयशंकरले मधेश केन्द्रीत दलका नेता उपेन्द्र यादव, महन्थ ठाकुर र सिके राउतलाई संगठित भएर मधेशको विकासमा जोड दिन सुझाव दिएको श्रोतले बताएको छ। 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update