Public Pana
१४ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न सरकारी बकिलले लेख्यो अख्तियारलाई पत्र

जिल्ला सरकारी बकिलको कार्यालय काठमाडौले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न अख्तियारलाई पत्र लेखेको छ।

जिल्ला सरकारी बकिलको कार्यालयले जिल्ला अदालत काठमाडौमा अभियोगपत्र दायर गरेसगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उक्त सुन तस्करी प्रकरणमा जोडिएका सरकारी कर्मचारीमाथि अनुसन्धान गर्नु भन्दै पत्र लेखेको हो । सरकारी बकिलको उक्त निर्देशनपछि अख्तियारले उक्त प्रकरणमा अनुसन्धान शुरु गर्ने भएको छ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले सुन बरामद र त्यसमा सरकारी कर्मचारीहरु समेत संलग्न भएको घटनामा अख्तियारमा समेत फाइल पठाउन भन्सार कार्यालयलाई निर्देशन समेत गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले, २०८० मंसिर २१ गते राति फ्लाई दुवईको उडानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको थियो ।

घटनामा संलग्न भएको आरोपमा भन्सार कार्यालयले ‘सुन भन्सार चोरी पैठारी’ गरेको अभियोगमा बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । त्यही फाइलमा मुद्दा चलाउने राय लेख्ने क्रममा सरकारी वकिलको कार्यालय, काठमाडौंले केही सरकारी कर्मचारी भ्रष्टाचारमा समेत संलग्न भएको देखिएको भन्दै फाइल अख्तियार समेत पठाउन पत्र लेखेको हो । त्यस्तै सम्पत्ति शुद्धीकरण विभागलाई पनि यो प्रकरणमा अनुसन्धान गर्न भनिएको छ।

सुन चोरी पैठारी काममा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरु समेत संलग्न देखिएको भन्सार कार्यालयको अनुसन्धानबाट खुलेको छ । प्राधिकरणका कर्मचारीहरु राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत सुन तस्करीमा संलग्न देखिएको अभियोगपत्रमा उल्लेख छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरे कुनै निकायवारे निर्णय भएर आएको विषयलाई आयोगले उजुरीका रुपमा लिने र अनुसन्धान अघि बढाउने अभ्यास रहेको बताए । सरकारी बकिलको कार्यालयवाट आउने फाइललाई पनि त्यही रुपमा लिएर अनुसन्धान शुरु हुने उनले बताए ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update