Public Pana
‘दक्षिण कोरियाली विपक्षी नेतामाथि छुरा प्रहार गरी  हत्याको असफल प्रयास’

 दक्षिण कोरियाली विपक्षी नेता ली जे–म्युङको घाँटीमा छुरा प्रहार गरी हत्या गर्ने प्रयास गरिएको पार्टीका एक सांसदले बुधबार बताएका छन्। 

दक्षिणी बुसान शहरमा मंगलबार पत्रकारहरूले लीसँग समसामयिक विषयमा प्रश्न गरिरहेका समय समर्थकको भेषमा आएका एक व्यक्तिले भीडलाई धकेलेर उनको घाँटीको बायाँपट्टि चक्कुले आक्रमण गरेका थिए। 

प्रत्यक्षदर्शीले स्थानीय प्रसारक वाईटीएनलाई बताएअनुसार ५९ वर्षीय नेता पत्रकारसँग कुरा गरी आफ्नो कारमा जाँदै गर्दा आक्रमणकारीले उनको अटोग्राफ मागेका थिए।

टाउकोबाट शरिरमा फर्किने रगत नली (जुगुलर भेन) चोट लागेका लीलाई सुरुमा बुसानको अस्पतालमा लगिएको थियो भने पछि राजधानी सियोल लगिएको छ। दुई घण्टा लामो शल्यक्रियापछि अहिले उनको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

डेमोक्रयाटिक पार्टीका सांसद जङ चङ–रेले बुधबार पार्टीको बैठकमा भने, ‘बुसानका स्वास्थ्यकर्मीले आक्रमणकारीको चक्कुले लीको मष्तिस्कमा जाने नशा (क्यारोटिड आर्टिलरी) मा लाग्नबाट जोगिएको र उहाँलाई अस्पतालसम्म पुर्‍याउन सकिएको हो। क्यारोटिड आर्टिलरीमा लागेको भए उहाँको तत्काल घटनास्थलमै मृत्यु हुन सक्ने थियो।’

 

‘ली अहिले सघन उपचार कक्षमा उपचाररत हुनुहुन्छ तर अवस्था यति गम्भीर छ कि उहाँ पूर्व अवस्थामा पुग्न निकै कठिन छ,’ उनले भने। 

डेमोक्रयाटिक पार्टीका सदस्य तथा चिकित्सक काङ चियोङ हीले लीलाई ‘गम्भीर चोट’ लागेको बताएका छन्। योनहाप समाचार संस्थाका अनुसार प्रहरीले किम थर भएका ६६ वर्षीय संदिग्धको पक्राउका लागि पुर्जी जारी गरेको छ। 

योनहापका अनुसार जिल्ला अदालतले अनुसन्धानको क्रममा संदिग्धको घर र कार्यालयमा खानतलासी गर्न पक्राउ पूर्जी जारी गरेको छ र प्रहरीले आक्रमणको वास्तविक उद्देश्य पत्ता लगाउन ध्यान केन्द्रित गर्नेछ।

योनहापका अनुसार आक्रमणकारीले प्रहरीसँग उनको उद्देश्य लीको हत्या गर्नु रहेको बताएका छन्। सांसद जङले भने, ‘आक्रमणकारीले आफूले लीको हत्या गर्न खोजेको कुरा स्वीकारेको छन्।’

दक्षिण कोरियाली टेलिभिजन स्टेशनमा प्रसारित फुटेजमा प्रहरीले ली समर्थक नारा प्रदर्शन गर्ने संदिग्धलाई भुइँमा लडिरहेको देखिएको छ।

योनहापका अनुसार संदिग्ध किम सियोलबाट करिब ११५ किलोमिटर दक्षिणमा रहेको दक्षिण चुङछियोङ प्रान्तमा रियल स्टेट एजेन्टका रूपमा काम गर्दै आएका थिए।

बैंकबाट कार्यालयमा आएका सूचना र अन्य सामग्रीको हवाला दिँदै किमले आर्थिक कठिनाइको सामना गरिरहेको र सात महिनादेखि कार्यालयको मासिक भाडा तिर्न असमर्थ रहेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update