Public Pana
प्रधानमन्त्रीको ब्रिफिङ–‘ओलीजीले एमालेलाई ‘जिरो’ नबनाउनुस् भन्ने आग्रह गर्नुभएको छ’

राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई शून्य बनाएर नजान आग्रह गरेको प्रधानमन्‍त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन्। 

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई एमाले अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई शून्य बनाएर नजान आग्रह गरेको ब्रिफिङ गरेका छन्। 

बैठकपछि जानकारी दिँदै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीले आफूसँग राष्ट्रिय सभामा आफूहरुलाई जिरो नबनाउन आग्रह गरेको र त्यमा ठोस प्रस्ताव आए एमालेसँग छलफल गर्न सकिने जानकारी गराएको बताए।

 

उनले भने, ‘एमालेलाई पनि सो निर्वाचनमा सहभागी गराएर लैजाने कि भन्ने बारेमा प्रधानमन्त्रीज्युसँग एमाले अध्यक्षज्युले हामीलाई जिरो नगर्नुस् भन्नुभयो भन्ने खालको कुरा आयो। यो कुरा आएपछि हामीले सबै दलहरुसँग सरसल्लाह गरेर के हो? उहाँहरुको खास कंक्रिट प्रस्ताव के हो? बुझेर मात्रै टुंगो गरौं भन्ने कुरा भयो। एमालेको ठोस प्रस्ताव आएपछि कुरा गर्न उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गरियो।’ 

यस्तै आजको बैठकमा भारतीय परराष्ट्रमन्त्री यश जयसंकरको नेपाल भ्रमणका विषयमा पनि छलफल भएको पाण्डेले बताए। भोलि नै उनी नेपाल आउने भएका छन्। ‘भोलि भारतीय परराष्ट्रमन्त्री नेपाल आउँदै हुनुहुन्छ। भारतसँग भएको कतिपय सन्धिका कुराहरु छन्। पञ्चेश्वरका विषयहरु छन्। त्यसमा कसरी जाने भन्ने छ। महाकाली सन्धि जो बनेको छ। त्यसमा उल्लेख भएका कुराहरुलाई कसरी हामीले उहाँहरुसँग बसेर कुराकानी मिलाएर जान सकिन्छ? यी विषयहरुमा प्रधानमन्त्रीले विभिन्न ढंगले तयारी गरिरहेको कुरा हामीलाई बिफ्रिङ गर्नु भयो’, उनले भने। 

आज बसेको सत्तारुढ गठबन्धनको बैठकमा कुनै ठोस सहमति नभएका कारण भोलि बिहान ९ बजे पुन बैठक बस्ने सहमति भएको नेता पाण्डेले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update