महाकाली करिडोरअन्तर्गत कञ्चनपुरदेखि दार्चुला खण्डमा हालसम्म दुई सय ४१ किलोमिटर ट्र्याक खोलिएको छ ।
अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको महाकाली करिडोर आयोजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए ।
‘बाँकी स्थानमा तीव्र गतिमा ट्रयाक खोलिएको छ । रुख कटानको आदेश आएको छ’, आयोजना प्रमुखले भने, ‘ट्रयाक खोलिएको खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ ।’
डडेल्धुराको सिमल्टा–भागेश्वर–सुनर्या खण्डको ३१ किलोमिटर खण्डमा २० महिनापछि रुख कटानको आदेश आएको छ । डडेल्धुरा खण्डमा दुई हजार छ रुख काट्नुपर्नेछ ।
बैतडीको सुनर्या–दोगडाकेदार ३५ किलोमिटर खण्डमा ३५ किलोमिटर खोल्ने काम भइरहेको छ । दार्चुलाको २७ किलोमिटर धनथला–सलेती खण्डको पनि कटान आदेश आएर ट्रयाक निरन्तर रुपमा काम भइरहेको आयोजनाले जनाएको छ । ट्रयाक खोलिएको ३७ किलोमिटर खण्डमा कालोपत्रका लागि सडक स्तरोन्नतिको काम पनि जारी छ ।
करिडोर बनेपछि सुदूरपश्चिमको कायाकल्प हुने यस क्षेत्रका स्थानीयको विश्वास छ । विसं २०६५–०६६ देखि महाकाली करिडोरको काम थालिएको भए पनि दशक बितिसक्दा पनि सम्पूर्ण सडकको ट्रयाक खुलेको छैन । कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विकट क्षेत्र जोड्दै चीनको सिमानासम्म पुग्ने यो सडकले सुदूर पहाडको आधाभन्दा बढी भूभागलाई तराईसँग जोड्ने छ ।
कञ्चनपुरदेखि दार्चुलासम्म चार सय २५ किलोमिटर सडक निर्माण हुने छ । ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किलोमिटर सडक महाकाली करिडोर सडक आयोजनाले निर्माण गरिरहेको छ ।
तुसारपानीदेखि तिङ्करसम्म ९१ किलोमिटर सडकको ट्रयाक नेपाली सेनाले खोली रहेको छ । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको महाकाली करिडोरको काम चाँडो पूरा गर्न स्थानीयले माग गरेका छन् ।