Public Pana
पूर्वराजासँग  राप्रपाका पाँच शीर्ष नेताले गरे सामूहिक भेट

राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच प्रमुख नेताहरु पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्न भैरहवा पुगेका छन् । पूर्वराजा बसेको होटलमा सामूहिक भेटवार्ता भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंह भैरहवा गएका हुन् ।

उनीहरु तीन वटा फरकऔफरक उडानबाट गएको बुझिएको छ ।

मिश्र र तामाङ एउटा फ्लाइटबाट, राणा र सिंह अर्को फ्लाइटबाट सँगै गएका थिए । अध्यक्ष लिङ्देन भने आफ्ना भेटघाटहरु सकेर एक्लै गएका हुन् ।

पूर्वराजाबाटै उनीहरुलाई बोलावट आएको थियो । भेटघाटको विषयवस्तु भने थाहा हुन सकेको छैन । पूर्वराजा आफ्ना परिवारका सदस्यहरुसहित नागरिक अभिनन्दन तथा भेटघाटहरुका लागि केही दिनदेखि भैरहवा छन् ।

उनले राप्रपाका नेताहरुलाई उतै बोलाउनु अर्थपूर्ण मानिएको छ । सार्वजनिक तसबिरमा पाँचैजना नेता दौरासुरुवालमा सजिएका छन् ।

राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्रले पूर्वराजाको भनाइ उद्वृत गर्दै लेखेका छन्, ‘हामी सबैले धेरै देख्यौं÷बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन् ।’
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले यो नियमित भेटघाट भएको बताए ।
उनले भने, ‘राजसंस्थाको एजेन्डा बोकेको पार्टीका नेताहरुको पूर्वराजासँग नियमित नै भेटघाट हुन्छ । यो असामान्य होइन ।’
पूर्वराजा ज्ञानेन्द्रलाई भोलि भैरहवामा नागरिक अभिनन्दन गरिने कार्यक्रममा नेताहरू आएका हुन् । शाह दुईवटा साता यता रूपन्देही बसेका छन् । यहीँबाट कपिलवस्तु तथा नवलपरासीमा पुगेर उनले अभिनन्दन ग्रहण गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update