Public Pana
नागरिक उन्मुक्तिले टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशन गर्दै, उद्घाटन प्रधानमन्त्रीद्धारा

नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा २६ गतेदेखि प्रथम राष्ट्रिय अधिवेशन गर्ने भएको छ। पार्टीले गर्न लागेको प्रथम अधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड)ले गर्ने भएका छन्। प्रधानमन्त्री प्रचण्डसँगै पार्टीका शीर्ष नेतहरू कैलालीको टीकापुर आउने पार्टीका संरक्षक रेशमलाल चौधरीले बताए।

भारतीय जनता पार्टीका प्रतिनिधिहरू पनि टीकापुर आउने छन्। चौधरीले भने, ‘प्रमुख अतिथि प्रधानमन्त्री हुनुहुन्छ। माधव नेपाल, बाबुराम भटराई, सिके राउत र उपेन्द्र यादवले आउने बताउनु भएको छ। केपी ओलीलाई निम्तो दिएका छौँ। फेरि भेट गर्छु। शेरबहादुर देउवाले सन्देश पठाउने कुरा भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्रीज्यू आउनुहुन्छ।’

धनगढीमा आज बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका संरक्षक चौधरीले पार्टीको प्रथम अधिवेशनमा ८ हजार प्रतिनिधि टीकापुर आउने बताए। चौधरीका अनुसार नागरिक उन्मुक्ति पार्टीले २४६ निर्वाचनबाट र २५५ जनालाई मनोनित गर्ने छ ।

३ दिनसम्म टीकापुरमा सञ्चालन हुने अधिवेशनमा सहभागीहरूले स्थानीय खानाका परिकारहरू खान पाउने उनले बताए।

टीकापुर घटनाको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टी ५२ जिल्लामा विस्तार भएको छ। रेशमलाल चौधरीले कारागारबाटै नागरिक उन्मुक्ति पार्टीको स्थापना गरेका थिए।

पार्टीको केन्द्रीय कार्यालय कैलालीको टीकापुरमा रहेको छ।

पार्टीकी अध्यक्षसमेत रहेकी रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ अहिले संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्। रञ्जिता फेरि पार्टीको अध्यक्षमा दोहोरीने वा नयाँ अध्यक्ष निर्वाचित गरिने विषयमा रेशमलालले बाल्न चाहेनन्।
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update