Public Pana
वातावरणमा असर : हिउँदमा अझै पानी परेन

जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको भए पनि अहिलेसम्म हिउँदे वर्षा भएको छैन ।

पश्चिमी वायुका कारण हिउँदयाममा वर्षा हुन्छ । तर यस वर्ष पश्चिमी वायुको प्रभाव कम रहेकाले पानी नपरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।

केही दिनअघि देशको पश्चिमी भागमा आंशिक प्रभाव रहे पनि सशक्त हुन नसक्दा वर्षा नभएको हो ।
गएको वर्ष पनि यो समयमा हिउँदे वर्षा भएको थिएन ।

फागुन १६ गतेसम्मलाई हिउँदयाम मानिन्छ । त्यसैले त्यस बेलासम्म हिउँदे वर्षा हुन सक्ने भए पनि अहिले लगातार लामो समय पानी नपरेको हो । अहिले नै वर्षा हुने खालको कुनै पनि प्रणाली नदेखिएको मौसमविद् पुडासैनीले बताए ।

यतिखेर नेपालका धेरैजसो ठाउँमा गहुँखेतीका लागि हिउँदे वर्षा आवश्यक हुन्छ । तर समयमा पानी नपर्दा उत्पादन घट्ने चिन्ता रहेको किसानहरू बताउँछन् । हिमाली क्षेत्रमा पर्याप्त हिमपात पनि भएको छैन ।

लामो समय पानी नपर्दा खेतीमा असर पर्नुको साथै प्रदूषण बढेर विभिन्न रोगको जोखिम समेत बढ्ने आशंका गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update