Public Pana
जापानको एयरपोर्टमा आगलागि सबै ३७९ यात्रुको उद्धार

जापानको राजधानी टोक्योको हानेडा एयरपोर्टमा एक यात्रुवहाक जहाजमा आगो लागेको छ। 

जापानी समाचार एजेन्सी क्योडोका अनुसार अवतरणअघि यो जहाज कोस्ट गार्डको अर्को जहाजसँग ठोक्किएको थियो। 
अहिले विमानस्थलमा जलेको जहाजको आगो निभाउने कोसिसमा अग्निनियन्त्रक लागेका छन्। तर उक्त जहाज जलेर करिब ध्वस्त भइसकेको छ। 

उक्त दुर्घटनाका क्रममा भएको मानवीय क्षतिको विवरण आइसकेको छैन। 

जापान एयरलाइन्सका एक प्रवक्ताका अनुसार होकाइडोको शिन–चितोसे एयरपोर्टबाट गएको उक्त जहाजमा ३७९ जना थिए। जसमध्ये ३६७ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए।

तर ती सबै यात्रुलाई जहाजबाट निकालिएको छ। जापानको यातायात मन्त्रालयले घटनाको जाँच भइरहेको जनाएको छ।
जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले सार्वजनिक गरेको एक भिडिओमा उक्त जहाज रनवेमा अर्को जहाजसँग ठक्कर खाँदै अघि बढेको देख्न सकिन्छ। त्यसपछि दुवै जहाजमा आगो लागेको छ।

रोयटर्सले जापानी कोस्ट गार्डलाई उद्धृत गर्दै जनाएअनुसार अहिले यस घटनाको जाँच चलिरहेको छ।
उता जापान एयरलाइन्सका प्रवक्ताले उडान नम्बर ५१६ को जहाजमा आगलागी भएपछि उद्धार चलिरहेको बताएका छन्। 
 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update