Public Pana
वैदेशिक रोजगारीको लागि १० करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने पक्राउ
सांकेतिक तस्बिर

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै युवाहरूबाट १० करोड रुपैयाँभन्दा धेरै रकम ठग्ने ललितपुरका लालबहादुर लामा पक्राउ परेका छन् ।

उनले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामा लगायत युवाहरूलाई लिथुवानिया, क्यानडा, सिङ्गापुरलगायतका देशहरूमा आकर्षक तलबसहित रोजगारीमा लगाइदिने प्रलोभनमा पारि १० करोड रुपैयाँभन्दा धेरै रकम लिएर फरार भएको भन्दै उजुरी परेको थियो ।

पीडित युवाहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपी ललितपुरको कोन्जोसोम गाउँपालिका– १ का लामालाई पक्राउ गरेको हो ।

उनले महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर खोलेर बेरोजगार युवाहरूबाट पाँच लाखदेखि १५ लाख  रुपैयाँसम्म लिएका थिए ।

कतिपय युवाहरूलाई वैदेशिक रोजगारमा पठाउनै नसकेको र कतिपयलाई सिङ्गापुर पठाएकोमा त्यहाँको विमानस्थलबाटै फर्काएपछि युवाहरूले आफूहरू ठगिएको थाहा पाएका थिए ।

पक्राउ परेका लामाले प्रहरीसँगको बयानमा १० करोड रुपैयाँभन्दा धेरै लिएको स्वीकार गरेको र उनको ट्रेनिङ सेन्टरबाट नौ सय ९७ थान राहदानी बरामद भएको पनि अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update