प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन प्राज्ञहरूलाई आग्रह गर्नुभएको छ ।
मङ्गलबार बिहान काठमाडौंमा आयोजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) मा बोल्नुहुँदै प्रधानमन्त्रीले प्रतिस्पर्धामार्फत शिक्षाको गुणस्तर उकास्न आफूले पहल लिने बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मैले घोषणा गरिसकेको छु– अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुने छैन । मेरिटोक्रेसीका आधारमा उपकुलपति लगायतका पदाधिकारीहरू नियुक्त हुनेछन् । म मेरो सङ्कल्पमा दृढ छु । यसले योग्यहरूले जिम्मेवारी प्राप्त गर्ने अवसरको ढोका खुल्नेछ, विश्वविद्यालयका पदाधिकारीहरूले उच्च मनोबलका साथ आफ्नो विज्ञता प्रस्तुत गर्ने वातावरण मिल्नेछ, विद्यार्थी, अभिभावक लगायत आम जनसमुदायमा उच्च शिक्षा र पदाधिकारीहरूप्रति भरोसा बढ्नेछ ।’’
प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
सबैभन्दा पहिला कान्तिपुर पब्लिकेशनले शिक्षा क्षेत्रको रुपान्तरण एवम् सुधारका निम्ति विशेष महत्त्व र प्राथमिकता दिएर यस प्रकारको शैक्षिक बहस कार्यक्रमको आयोजना गरेकोमा तपाईहरूप्रति हार्दिक आभार प्रकट गर्दै समिटको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।
प्राज्ञहरु, सरोकारवाला पक्ष र बौद्धिक व्यक्तित्वहरूको सहभागितामा आयोजित यस प्रकारको एजुकेशन समिटका निष्कर्षहरू नेपालको शिक्षा क्षेत्रमा रूपान्तरणका निम्ति सन्दर्भसामग्री हुनेछन् भन्ने मैले विश्वास लिएको छु । नीति निर्माणको क्षेत्रका साथै विज्ञहरू सम्मिलित यस बहसबाट निस्कने निष्कर्ष र सुझावहरू विद्यालय, क्याम्पस, विश्वविद्यालय लगायत देशकै सम्पूर्ण शैक्षिक संस्था, शिक्षा मन्त्रालय लगायत सरोकारवाला पक्ष र निकायहरूका निम्तिसमेत उपयोगी हुनेछन् ।
मैले जानकारी पाएअनुसार यो समिट विशिष्ट प्रकृतिको छ । यहाँ उच्च शिक्षालाई प्राथमिकता दिँदै शैक्षिक बहसमा विद्यालय, विश्वविद्यालय लगायत उच्च शिक्षा र प्राविधिक शिक्षामा छुट्टाछुट्टै विचार मन्थन हुने मैले बुझेको छु। नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रमहरू विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका अनुभवहरूको आलोकमा हाम्रो आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिन सक्दछन् भन्ने मेरो विश्वास छ ।
भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभरि परिरहेको छ, त्यसमध्ये पनि नेपाल जस्ता विकासशील देशहरूमा यसको बहुआयमिक प्रभाव चुनौतीकै रूपमा विद्यमान छ । यसले साना, स्वतन्त्र र स्वाधीन देशहरूको अर्थतन्त्र, शिक्षा, मनोविज्ञान र सामाजिक संरचनामा नै काफी हदसम्म हेरफेर ल्याएको छ । यो तथ्यलाई गहिरो गरी विचार गर्ने र त्यसका आधारमा हाम्रो शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा परिवर्तन गरेर मात्र हामीले यो चुनौतीलाई छिचोल्न सक्दछौं । तसर्थ, यस समिटमा सहभागी बौद्धिक एवम् प्राज्ञिक महानुभावहरूलाई आजको यस यथार्थलाई गम्भीररूपमा विचार गर्नसमेत म अनुरोध गर्दछु ।
पछिल्लोसमय नयाँ पुस्तामा देशको शिक्षा गुणस्तरीय छैन, यसले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्दैन जस्तो नकारात्मक भाष्यको विकास हुँदै गएको र त्यसको प्रत्यक्ष प्रभाव बौद्धिक जनशक्तिको पलायनका रुपमा अभिव्यक्त भइरहेको तपाई–हामी सबैले देखेकै र अनुभूत गरेकै कुरा छ । उत्पादकत्वमा कमि, बेरोजगारी लगायतका कारण देशभित्र भविष्य नदेख्ने बाध्यात्मक परिस्थिति एक ठाउँमा छ, तर देशभित्रै रोजगारीको अवसर प्राप्त गरेका र सामाजिक रुपमा समेत प्रतिष्ठित व्यक्तिहरूमा समेत शीघ्रातीशीघ्र सम्पत्ति आर्जनको मोह अनपेक्षित रूपमा बढ्दै गएको छ । यो चाहिँ हाम्रा निम्ति साँच्चिकै चुनौतीको विषय हो ।