Public Pana
माओवादीकाे चारमहिने विशेष अभियान सकियाे के, आयाे त निष्कर्ष

सत्तारुढ नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरणको लागि सञ्चालन गरेको चारमहिने विशेष रुपान्तरण अभियान सोमबारबाट सकिएको छ। 

अभियानको विषयमा आज माओवादीले पत्रकारसम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ। 

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर चार महिने विषेश रुपान्तरण अभियानको विषयमा जानकारी गराइने पार्टी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए। 

 

उनले माओवादीले सञ्चालन गरेको ४ महिने विशेष रुपान्तरण अभियानलगायत समसामयिक विषयमा विशेष पत्रकार सम्मेलन गर्न लागिएको बताएका छन्। 

माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका छ हजार सात सय ३४ वडामा तीन महिने अभियान सुरु गरेको थियो।

जनताको उल्लेख्य सहभागिता रहेको भन्दै माओवादी केन्द्रले मंसिर १६ गते अभियान एक महिना थप गरेको थियो। अभियानका क्रममा पार्टी नेता कार्यकर्ता गाउँगाउँमा पुगेका थिए। 

देशका सातसय ५३ वटै पालिकामा बृहत् जनपरिचालनसहित सोमबार अभियान समापन गरेको माओवादीले आज विशेष पत्रकार सम्मेलन गरेर अभियानको विषयमा  जानकारी दिन लागेको हो। 

अभियानको क्रममा पार्टीका बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन लगायतका विषयमा छलफल भएको सो पार्टीले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update