
बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम भुत्तानी थालेकाे छ ।
आठ करोड १२ लाख बक्यौतामध्ये हिमाल आइरनले पहिलो किस्ताबापत २७ लाख १० हजार बुझाएको नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।
उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमबारै द्युत् लाइन जोडिदिएकाे छ ।
प्राधिकरणले उद्योगको लाइन शुक्रवार काटेको थियो । उद्योगले ३६ किस्तामा बक्यौता रकम तिर्ने छ ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड) को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिए ।