Public Pana
हाम्रो मेलमिलाप र भाइचारा देखेर विदेशी छक्क पर्छन् : सभापति देउवा

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक पार्टी बिचको मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताएका छन् ।

 

 

४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाली कांग्रेसद्वारा आयोजना कार्यक्रममा सभापति देउवाले वैचारिक मतभेद  र पार्टीगत मतभेदका बाबजुद दलहरूबिच मेलमिलाप रहेको बताए ।

‘वैचारिक मतभेद  र पार्टीगत मतभेद छन् । तर हाम्रो देशमा सबै दलहरू एक ठाउँमा बस्ने राजनीतिक संस्कार बसेको छ । यो सायद धेरै कम देशमा छ,’ उनले भने, ‘मान्छेहरू छक्क पर्छन् । कांग्रेसको जन्म जयन्तीमा अरू पार्टीका नेताहरू देख्दा विदेशबाट आएकाहरू छक्क परेका हुन्छन् ।’

प्रतिस्पर्धाका बाबजुद एक अर्कामा मेलमिलाप र भाइचाराको वातावरण धेरै कम देशमा मात्र रहेका देउवाको भनाइ छ । ‘हाम्रो देशमा देखिएको एकता र मेलमिलापको संस्कारमा बिपी कोइरालाले ल्याएको नीतिको प्रभाव परेको मलाई लाग्छ,’ उनले भने ।

 अहिलेको बेलामा देशमा मेलमिलापको आवश्यकता अझै बढेको सभापति देउवाले औँल्याए । ‘अनेकै किसिमका बाहान खोज्नेहरू लोकतान्त्रिक गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयासमा भएको छ । लोकतन्त्रको विकल्प केही हो भने अझ राम्रो लोकतन्त्र हो,’ उनले भने ।

गणतन्त्र र लोकतन्त्रको विकल्प खोज्ने कुरा हुनै नसक्ने देउवाको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update