Public Pana
बालकुमारी घटनामा २ जना मन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको निर्देशन

२ युवाको ज्यान गएको बालकुमारी घटनाका सन्दर्भमा संसदीय समितिले सरकारका २ जना मन्त्रीमाथि छानबिन गर्न निर्देशन दिएको छ। संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भूमिकाका बारेमा छानबिन गर्न निर्देशन दिएको हो। 

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकपछि सभापति रामहरि खतिवडाले समितिको निर्णय जानकारी गराएका हुन्।

समितिले ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई नेपाली नागरिकको मृत्यु भएकोमा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन र दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन सरकारलाई निर्देशन पनि दिएको छ। 

समितिले घटनामा सम्बन्धित साना कर्मचारीहरू मात्र निलम्बनमा पर्ने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरूको मनोबल नगिर्ने गरी समस्याको न्यायोचित समाधान गर्न पनि निर्देशन दिएको छ।

‘यस प्रकारको घटना अब आइन्दा नहोस् भनी सम्बन्धित सबै पक्ष सजग रहन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने’, खतिवडाले समितिले निर्णय वाचन गर्दै भने।

 

समितिको निर्णयमा सुरक्षा निकायलाई आवश्यक स्रोत साधन पर्याप्त उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update