Public Pana
आज टोपी दिवस

सम्वत फेरिन्छ, वर्ष फेरिन्छ । वर्षहरूको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरूप वर्ष अनि सम्वत फेरिँदै जान्छ, आउनुहोस् आज सम्वत हैन सम्वतसंग जोडिएको नेपाली टोपीको कुरा गरौँ ।

विश्व युद्धमा ढल्किएका वीरको शिरलाई शोभायमान गर्दै सगरमाथाका शिरसम्म लागेको यो मेरो टोपी अर्थात् नेपाली टोपीको आज महिमा गान गर्न चाह्यौँ, कहिले शिर शोभायमान गर्दै त कहिले पसिनाको लाज राख्दै खेत देखि विदेशसम्म नेपालीपनको शान नेपाली टोपीको दिवसका विषयमा कुरा जति गरे पनि अपुग नै हुन्छ ।

शिरमा सगरमाथाको स्वरूपमा नेपाली टोपी हरेक नेपाली शिरमा शोभायमान छ, अनि सम्वतसंगै हरेक वर्ष जनवरि १ तारिखमा नेपाली टोपी दिवस स्व स्फूर्त रूपमा नेपाली जनले मनाउँदै आएका छन् ।

ढाका टोपी दिवस भने पनि नेपाली पुस्ताले ढाका टोपीसँगै भादगाउँले टोपीको पनि महत्त्व बुझ्न जरुरी छ ।

प्रथम राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बङ्गाली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात् अहिलेको इस्टकोट अनि ढाका टोपी देखेर राम्रो लागि त्यही भेष नेपालमा लिएर आएका कथाहरू पनि ढाका टोपी पछाडिका अपुष्ट इतिहास हुन् ।

“ढाका “नेपाली हातले बुनिने एउटा विशेष कपडाको प्रकार हो र त्यसबाट बनेको टोपी नेपालीको शान । ढाका टोपीको इतिहासलाई हेर्दा हामी भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ ।

त्यस समयमा भारतमै रहेको बङ्गलादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमशः ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यही टोपी नेपाली शानको पर्याय हुन गएको हो ।

आज नेपाल ढाका कपडामा स्व निर्भर छ, पाल्पा लगायतका धेरै ठाउँमा ढाका कपडाको उत्पादन हुने गर्दछ ।

नेपालका हरेक विवाह अनि समारोहमा ढाकाका कपडा, टोपी एवं चप्पल पवित्र एवं सम्मानजनक मानिन्छन् । नेपाली पहिरनमा ढाका टोपी अपरिहार्य छ, नेपाली राष्ट्रिय पोसाकमा ढाका टोपी बिना कुनै अर्थ रहँदैन पनि ।
जाँदा जाँदै एउटा अर्को गीतको शब्द सम्पूर्ण नेपाली नेतृत्वलाई छाड्न चाह्यौँ

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
नेपालै नरहे
पहाड या हिमाल हैन तराई अनि विदेशमा रहेको नेपालीका लागि पनि यस टोपी उत्तिकै महत्त्वपूर्ण छ । 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update