Public Pana
कांग्रेसको मेलमिलाप दिवसमा रास्वपा र राप्रपा छुटे 

सत्ता साझेदार नेपाली कांग्रेसले भोली सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने तयारी गरेको छ । 

विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागिएको हो ।

लोकतन्त्र प्राप्तिका लामो योगदान दिएका, बृहत् शान्ति सम्झौताका पक्षधरसहितका शक्तिलाई बोलाएर यो दिवस मनाउन लागिएको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा यो कार्यक्रम तय गरिएको विश्वकर्माले जानकारी दिए।
विश्वकर्माका अनुसार कार्यक्रममा प्रमुख प्रतिपक्षी नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसहितका नेतालाई बोलाइएको छ। 

यो कार्यक्रमका लागि कांग्रेसले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई निम्तो नै दिएको छैन। 

विश्वकर्माका अनुसार लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनका लागि उनीहरूको योगदान नभएकाले निम्तो नगरिएको हो।

‘वक्ता धेरै हुने भएपछि एउटा मापदण्ड बनायौँ। राष्ट्रिय मेलमिलाप भनेको बीपीको विचारलाई कार्यान्वयन गर्न लोकतन्त्र मूल विषय हो। प्रजातन्त्र मूल विषय हो,’ विश्वकर्माले भने, ‘यसमा लामो योगदान दिनेहरू वक्ता रहने छन्। त्यसमा दल सानो भए पनि नेमकिपाका नारायणमान बिजुक्छें र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको योगदान छ।’ 

उनले रास्वपासहितका अन्य दलहरू भने छुटेको बताएका छन्। रास्वपा र राप्रपाले लोकतान्त्रिक आन्दोलनमा योगदान नदिएकाले उनीहरू निम्तोको सूचीमा नपरेको विश्वकर्माले बताए।
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update