Public Pana
ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व हो : प्रधानमन्त्री प्रचण्ड (सम्बोधन सहित)

प्रधानमन्त्री पुष्पकमल दाहालले तमू (गुरुङ) समुदायको महत्त्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको दाबी गरेका छन् ।

तमु ल्होसार २०८० का अवसरमा काठमाडौंको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै उनले ल्होसारलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिए । उनले नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको औंल्याए ।

प्रधानमन्त्री दाहालले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको जनाए । उनले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरेको उल्लेख गर्दै नेपालका सबै संस्कृतिको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति रहेको औंल्याए ।

 प्रधानमन्त्री प्रचण्डको सम्बोधन : 
सबैभन्दा पहिले स्वदेश तथा विदेशमा रहनुभएका तमु लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा तमू ल्होसराई आशिमला (शुभकामना) टक्राउन चाहन्छु ।

तमू (गुरुङ) समुदायको मान्यतामा १४ पुसको रात सबैभन्दा लामो र चिसो रात हो । १५ पुससँगै दिन लामो हुँदै जान्छ । धर्तीमा नयाँ बोट–बिरूवा उम्रन थाल्छन् । वर्षको सबैभन्दा छोटो दिनको अन्त्य र लामो तथा न्यानो दिन आगमनको खुसियालीमा नयाँ वर्ष मनाउने परम्परा कायम हुन पुग्यो । अन्ततः यही परम्परा नै ल्होसार अर्थात् नयाँ वर्ष हो ।

ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्व मानिन्छ । पृथ्वीको ढल्काइअनुसार उत्तरी गोलाद्र्धमा सूर्य करिब साढे २३ डिग्री दक्षिणी अक्षांशमा पर्दा पृथ्वीको उत्तरी गोलाद्र्ध सूर्यको किरणबाट सबैभन्दा टाढा पर्छ । सूर्य प्रकाश मात्र होइन, तापको पनि मुख्य स्रोत हो । त्यसैले यो बेला पृथ्वीको उत्तरी गोलाद्र्धमा रहेका मुलुकहरूमा धेरै चिसो महसुस हुन्छ । यस मौसममा नेपालसहित चीन, मंगोलिया, भियतनाम, कोरिया, भुटान, थाइल्यान्ड, बर्मालगायतका देशमा पनि ल्होसार पर्व मनाइन्छ । यद्यपि ल्होसारलाई पुकार्ने नाममा भने ती देशमा विविधता भेटिन्छ ।

नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई कहीँ न कहीँ अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको पाइन्छ । प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्ता गरेर सामूहिक ल्होसार मनाउनुको पछाडि पनि यही उद्देश्य सन्निहित छ । म पनि सम्भव भएसम्म तपाईहरूसँगै ल्होसार पर्वमा सहभागी हुने गरेको छु । एक वर्षपछि फेरि यही मञ्चमा आएर शुभकामना साटासाट गर्न पाउँदा खुसी लागेको छ ।

२०५८ देखि १५ पुसमा गुरुङ जातिलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो । ०६२÷६३ को जनआन्दोलनपछि नेपालका सबैजसो प्रमुख जातिको चाडपर्वमा सरकारले सार्वजनिक बिदा दिन थाले पनि बीचमा सार्वजनिक बिदा कटौती गरिएको थियो । तर अहिले सार्वजनिक बिदा दिन थालिएको छ ।

नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको छ । संविधानको यही मर्म र भावनालाई गहिरोसँग आत्मसात गर्दै राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो । नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो । यहाँ बसोबास गर्ने सबै जाति÷जनजातिको आ–आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति हो ।

नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति हो । यो ल्होसार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरूवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ ।

ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यस्ता ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेका थुप्रै पर्व छन् । तसर्थ राज्यले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरूलाई राष्ट्रिय संस्कृतिको प्रवर्द्धन गर्नुपर्दछ ।

विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ । लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता र पहिचानसमेत हो । यस विशेषतालाई आत्मसात गर्दै देशमा विद्यमान चुनौतीहरुको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहँदै आएको छ ।

नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ । राष्ट्रियताको संवर्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहन्छ ।

यस्ता मौलिक चाडपर्वहरुले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँछ । तसर्थ, देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।

अन्त्यमा, यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा एवं सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय कार्यभारमा एकीकृत हुन हामी सबैमा उत्प्रेरणा पैदा हुने विश्वासका साथ फेरि एकपटक तमु जातिलगायत समस्त नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update