Public Pana
भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री जस्तो लागेको यातायातमन्त्री किरातीको व्यङ्ग्य

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्यान्डलिङको विषयमा कुनै पनि कुरा नउठाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज आइतवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव समारोहमा मन्त्री किरातीले ग्राउन्ड ह्यान्डलिङको विषयमा कर्मचारीले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्यान्डलिङको विषय सरकारको निर्णयको कुरा भएको भन्दै कर्मचारीले अनावश्यक कोकोहोलो गर्नु आवश्यक नभएको बताए ।

मन्त्री किरातीले देशलाई वायु सेवा निमग चाहिने र त्यसलाई बचाउनका लागि ग्राउन्ड ह्यान्डलिङ पनि चाहिने स्पष्ट पारे ।

कर्मचारीले यस विषय उठाएमा नीति र नेतृत्वमाथिको हस्तक्षेप हुने उल्लेख गर्दै मन्त्री किरातीले कुरा उठाएमा राम्रो नहुने चेतावनीसमेत दिए ।

उनले भने, ‘वायु सेवा निगमको बारेमा विना प्रसङ्ग किन बढी कुरा उठ्छन् ? के तपाईँ (कर्मचारी) हरू नीति निर्माता हो ? पटक–पटक तपाईँहरू किन वायु सेवा निगमको कुरा उठाउनुहुन्छ यहाँ ? निगमले ग्राउन्ड ह्यान्डलिङ लिने कि नलिने भन्ने प्रश्नमा किन तपाईँहरू ठूलो–ठूलो धुवाँ उडाउनुहुन्छ ? कोकोहोलो गर्नुहुन्छ ? आजदेखि बन्द गर्नुहोस् । यो प्रधानमन्त्रीको सरोकारको कुरा हो । देशका सबै ठूलो राजनीतिक दलहरूको सरोकारको कुरा हो । वायु सेवा निगम अहिले चाहिन्छ । त्यसलाई बचाउनका निम्ति ग्राउन्ड ह्यान्डलिङ चाहिन्छ ।’

मन्त्री किराती कर्मचारी ट्रेड युनियनका नेताहरूमाथि समेत आक्रोशित भए ।

उनले कर्मचारीले धेरै नीतिगत कुरा गरेको भन्दै भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री हो कि जस्तो लागेको भनेर व्यङ्ग्य गरे । मन्त्री किरातीले नीतिको चिन्ता प्रधानमन्त्री, मन्त्रीहरूले गर्ने भन्दै नेतृत्वले बनाएको नीतिमा कर्मचारी  हिँड्नुपर्ने उल्लेख गरे ।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरणको तीन वटा तत्कालीन कार्यभार रहेको बताए ।

यात्रुको सुरक्षा गर्नु पहिलो कार्यभार रहेको उल्लेख गर्दै मन्त्री किराँतीले ईयूको कालोसूचीबाट हटाउन सुधार गर्नुपर्ने १२ बुँदा अक्षरशः पालना गर्नुपर्ने दोस्रो कार्यभार रहेको जनाए ।

मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा र निजगढको विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गरिने पनि जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update