Public Pana
बाग्मतीलाई हराउँदै सुदूरपश्चिम दोस्रो क्वालिफायरमा

बाग्मती प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ ।

आज आइतवार भएको एलिमिनेटर खेलमा खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ९ विकेटले हरायो । बाग्मतीले दिएको १०० रनको लक्ष्य सुदूरपश्चिमले १४ ओभर ३ बलमा १ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि विन्दु रावलले नट आउट ५४ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी मनिषा उपाध्यायले १ विकेट लिइन् ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बाग्मतीले १९ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायो । बाग्मतीका लागि कञ्चन श्रेष्ठले ३८ रन बनाइन् ।

बलिङतर्फ सुदूरपश्चिमकी करिश्मा थापाले ३ विकेट लिइन् ।

यो जितसँगै सुदूरपश्चिम दोस्रो क्वालिफायरमा पुगेको छ । अब सुदूरपश्चिमले फाइनल प्रवेशका लागि भोलि सोमवार कोशी प्रदेशसँग खेल्नेछ ।

आजै कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा कोशीलाई हराउँदै एपीएफ फाइनलमा पुगेको थियो । फाइनल खेल आउँदो बुधवार हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update