Public Pana
रुकुमपश्चिमका २० हजार भूकम्प पीडितले पाए पहिलो किस्ता

रुकुमपश्चिमका करिब २० हजार भूकम्प पीडितले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन्।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले जिल्लामा जनधनको क्षति पुर्याएको थियो।
जिल्लाका ६ वटै स्थायीय तहमा गरेर हालसम्म १९ हजार ७ सय १७ लाभग्राहीले पहिलो किस्ताबापतको २५ हजार रुपैयाँका दरले रकम प्राप्त गरेका हुन्।

जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार ६ सय ८ लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम पठाइए पनि  विपद् न्यूनीकरण कोषबाट १९ हजार ७ सय १७ लाभग्राहीले रकम प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए।

उनका अनुसार हालसम्म सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा ७ हजार लाभग्राहीले रकम प्राप्त गर्दा बाँफीकोट गाउँपालिकामा भने प्रमुख प्रशासकीय अधिकृत नहुँदा कुनै पनि लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्न सकेका छैनन्।

त्यस्तै, चौरजहारी नगरपालिकामा ५ हजार ९ सय ३८, मुसिकोट नगरपालिकामा २ सय ११, सानीभेरी गाउँपालिकामा ४ हजार ४ सय ९९ र त्रिवेणी गाउँपालिकाका २ हजार ६९ लाभग्राहीले पहिलो किस्ताबापतको २५ हजार रुपैयाँका दरले ४९ करोड २९ लाख २५ हजार रुफैयाँ पाप्त गरेका छन्।

जिल्ला विपद् व्यवस्थापन कोषबाट भने ५९ करोड २ लाख रुपैयाँ रकम स्थानीय विपद् जोखिम न्यूनीकरण कोषमा पठाइएको छ।

जिल्ला विपद् व्यस्थापन कोषबाट पठाइएको पहिलो किस्ताबापतको रकम अझै ३ हजार ९१ लाभग्राहीले पाउन बाँकी छ।

जिल्लाभर हालसम्म २६ हजार ८ सय ५ लाभग्राहीको प्रहरी लगत सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update