Public Pana
प्रधानमन्त्री कप महिला टी २० क्रिकेटमा एपीएफ फाइनल प्रवेश

कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

आज आइतबार भएको पहिलो क्वालिफायरमा कोशीलाई हराउँदै एपीएफ फाइनलमा पुग्ने पहिलो टोली हो।

कोशीले अब फाइनल प्रवेशका लागि दोस्रो मौका पाउनेछ। कोशीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

एलिमिनेटर खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्नेछन्।
एपीएफले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सक्यो।

कोशीका लागि अप्सरी वेगमले बनाएको ३१ रन नै सर्वाधिक रह्यो। अप्सरीले ४८ बलमा २ चौका र १ छक्का हानिन्। ओपनर तथा कप्तान रुविना क्षत्रीले २२ रन बनाईन्। लकिता राजवंशीले १४ रन थपिन्।
विमला मलहाले ६ र काजल श्रेष्ठले ४ रन थपिन्।

एपीएफका लागि रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सिता रानामगरले समान एक विकेट लिए।  

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको हो।

इन्दु बर्माले ५० बलमा ३ चौका र १ छक्का मद्धतमा ५६ रनामा नटआउट रहिन्। रोमा थापा १८ रन बनाए।  
ओपनर ज्योति पाण्डे १२ रनमा बोल्ड आउट भईन्।

कप्तान सिता राना मगर ४५ रन बनाउँदा रन आउट भईन्। ३७ बलको सामना गरेकी सिताले ३ चौका र २ छक्का हानिन्।

कोशीका लागि कप्तान रुविना क्षत्रीले एक विकेट लिईन्।
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update