संसद नचलेको अवस्थामा सरकारले अध्यादेशमार्फत प्रहरी ऐन संशोधनको तयारी गरेको छ । प्रदेशहरुको मागलाई सम्बोधन गर्दै सरकारले प्रहरी समायोजन सम्बन्धी व्यवस्थालाई पनि अध्यादेश मार्फत नै परिमार्जनको तयारी गरेको हो ।
प्रस्तावित ‘नेपाल प्रहरी ऐन अध्यादेश–२०८०’ जारी भएपछि खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) भर्ना हुन चाहने व्यक्तिले २७ वर्षको उमेरसम्म आवेदन दिन पाउनेछन् ।
प्रहरी ऐन र नियमावलीमा रहेको साविकको व्यवस्थाअनुसार जनपद प्रहरी बन्न चाहने व्यक्तिले तीन तहमा खुला प्रतिस्पर्धा गर्न पाउँछन् ।
प्रहरी जवानमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट भर्ना लिइन्छ भने प्रहरी सहायक निरीक्षक (असई) मा ४० प्रतिशत खुलाबाट र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट भर्ना लिइन्छ ।
त्यस्तै, इन्स्पेक्टरमा ६० प्रतिशत खुलाबाट र ४० प्रतिशत आन्तरिकबाट भर्ना लिने गरिएको छ ।
प्रहरी इन्स्पेक्टरलाई प्रहरी सेवामा जान चाहने युवाहरुको आकर्षक रोजाइको जागिर मान्ने गरिएको छ । यो पदका लागि अहिलेसम्मको उमेर हद २० वर्ष पूरा भई २५ वर्ष नकटेको हुनुपर्ने रहेको छ ।
तर, अब हुने संशोधनले इन्सपेक्टर भर्नाको उमेर हद २७ वर्ष बनाउन लागिएको गृहमन्त्रालयले जनाएको छ ।