Public Pana
आज तमु ल्होसार देशभर मनाइदै

छयाँजलो, ताहान मिथेवामैलई छयाँजगे मु । जाँसाजे ।
हाम्रो पात्रोको तर्फबाट तमु अभिवादन! आज तमु ल्होसार हो ।

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो ।

चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् ।

तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ । यी ल्होसारहरुमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् । यसपटक तमु गुरुङ समुदायले ’हि ल्हो’ (बिरालो वर्ग) को बिदाइ गर्दै गिद्ध (मि–ल्हो) को स्वागत गरेर भव्य रूपमा मनाउने छन् ।

विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गिद्ध (मि–ल्हो) बर्ग रहनेछ ।

हरेक वर्षझैं यस वर्ष पनि गिद्ध (मि–ल्हो) वर्षलाई सबैको शुभ होस भनी तमु गुरुङ परम्पराअनुसार गुरुङ पूरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरुद्वारा १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रह–दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने कार्य गरीने छ।

बुद्धिष्ट समूदायले वडो उत्साह र चाखकासाथ मनाउने यस पर्वबारे विभिन्न पुस्तक अनि एतिहासिक दस्तावेजका अनुसार भगवान वुद्धको यस पृथ्वीमा भएको आगमन अगावै मनाईने गरिएको प्रमाण भेटिएका छन् । बुद्धको आगमन अगावै पनि यस समूदायका ब्यक्तिहरु अनि मुख्यतः तिब्बत अथवा भोटका मान्छेहरुले सुगन्धित अगरबत्ति÷धूप बालेर भगवानको अर्चना गर्दे मध्य हिउँदमा यो पर्व अनि उपासना गर्ने गरेको तिब्बती मूलका विभिन्न पुस्तक र शोधहरुमा उल्लेखित छन् । तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधहरुका अनुसार तमुका पुर्खाहरु छैठौ शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समूदायका रुपमा चिनिन्छन् ।

विश्व मानचित्रमै तमु समूदायले आफ्नो उच्च मनोबल, साहस, अट्टाहस, बहादूरी अनि बफादारिताले एउटा कर्मठ सैनिक र गोर्खालीका रुपमा नेपालीको शिर सदैव उच्च राखेका छन् । चाहे विश्व यूद्ध होस् या आतङ्कवाद विरुद्धको कुनै लडाई, चाहे अमेरिकी सैनिक हुन् या बेलायती, भारतीय या विभिन्न अरु देशका, तमु समुदायका यूवाहरु अनि तिनका पहिचानको विश्वले विभिन्न कालखण्डमा गौरवशाली वृतान्त दिंदै आएको छ ।

मुख्यतया ल्होसारको वास्तवीक मनाउने चलन र उमङ्ग १५ दिनसम्म रहने गर्दछ । आजबाट १५ दिन अर्थात् नयाँ वर्षको शुरुका १५ दिनहरु हर्षोल्लास अनि उत्साहकासाथ विताएमा सम्पूर्ण वर्षनै उत्साहपूर्ण र सुखद ब्यतित हुने मान्यता रहेको छ ।

नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जङ्गल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् ।

पश्चिमतर्फ हानेको धनुकाँडले गएको ’ल्हो’ अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ’ल्हो’ को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात् वर्षहरुलाई आउन नदिन जन्तर बाँध्ने र जङ्गलको रुखमा बाँध्ने चलन छ ।

पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
सबैलाई तमु ल्होसारको शुभकामना

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update